काठमाडौं, भदौ २६ – गुणस्तहिन कमसल सिमेन्ट उत्पादन तथा विक्रिवितरण गर्ने मंगला सिमेन्ट उद्योगमाथि कारबाही गर्न उपभोक्तावादीले माग गरेका छन् । गुणस्तर तथा नापतौल विभागबाट गुणस्तरको प्रमाणपत्र प्राप्त मंगला सिमेन्ट उद्योगको गुणस्तर चिन्ह खारेज गर्न र सो उद्योगलाई कानुन बमोजिम हुँदै सम्मको कारबाही गर्न कन्जुमर आई नेपालले सरकारसँग माग गरेको हो ।
उक्त संस्थाले बिहीबार एक प्रेस वक्तव्य जारी गर्दै न्युन गुणस्तरको मंगला सिमेन्टमाथि कारबाही गर्न र पीडितलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन समेत सरकारसँग माग गरेको छ । काठमाडौं नगरपालिका निवासी अमर गोपाल श्रेष्ठले आफ्नो घर निर्माणका लागि गत असार ३२ गते ललितपुर सानेपास्थित एक डिपोबाट मंगला पीपीसी सिमेन्ट खरिद गरि घरमा प्रयोग गरेको र न्यून गुणस्तरको सिमेन्टका कारण निर्माण कार्य बिग्रिएको कन्जुमर आईद्धारा जारी वक्तव्यमा भनिएको छ ।
अनुसन्धानका क्रममा उक्त सिमेन्टले बजारमा गुणस्तरहिन सिमेन्ट उत्पादन गर्दै आएको र गुणस्तरीय भन्दै उपभोक्ता ठग्दै आएको पाइएको कन्जुमर आई नेपालका महासचिव रञ्जन खनालले बताए । केहि समयअघिदेखि मंगला सिमेन्टले यसरी नै बजारमा गुणस्तर हिन सिमेन्टलाई विक्रिवितरण गर्दै आएको र उपभोक्ता झुक्याएर अनुचित व्यापारिक तथा व्यवसायजन्य क्रियाकलाप गर्दै आएको महासचिव खनालको भनाई छ ।
पछिल्लो समय बजारमा मंगला सिमेन्ट मात्र नभएर अधिकांश सिमेन्टहरुको गुणस्तर कमसल रहने गरेको पाइएको र तोकिएको मापदण्ड समेत पुरा नगरेको पाइएको महासचिव खनालको आरोप छ । यस्ता सिमेन्टको गुणस्तर तत्काल छानविन गर्न र दोषीलाई कारबाही गर्न समेत खनालले जोडदार माग गरेका छन् ।
FACEBOOK COMMENTS