काठमाण्डौ । काठमाडौँ क्षेत्र नम्बर ७ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार आकर्षण पोख्रेलले स्वतन्त्र उम्मेदवारहरुका एजेन्डा र सक्रियताप्रति मतदाताहरु पनि आकर्षित भएको आफूले पाएको दाबी गरेका छन् । उनले आज एक विज्ञप्ति जारी गर्दै आफू हाम्रो नेपाली पार्टी र लौरो चिन्ह अभियानबाट उम्मेदवार रहेको स्पष्ट पारेका छन् ।
उनले आफू विजयी हुने दाबी गर्दै भने, “स्थानीय तहको निर्वाचनमा सुरु भएको परिवर्तन खोज्ने अभियानले नै आसन्न निर्वाचनमा पनि निरन्तरता पाउनेमा विश्वास छ ।” उनले विगतमा वैकल्पिक दलहरु शक्ति आर्जनमा लाग्दा स्थापित हुन नसकेको बताए ।
“पदमा पुगेपछि मात्र परिवर्तन हुन्छ भन्ने मान्यताबाट अघि बढ्दा समस्या भएको हो”, जारी विज्ञप्तिमा भनिएको छ, “परिवर्तनका लागि पद चाहिन्छ भन्ने छैन । नेताहरुले नीति बनाउने र नीति कार्यान्वयन भए विकास हुने उनको भनाइ छ । फलानोले जित्यो भने विकास हुन्छ भन्ने मानसिकता हटाउनुपर्छ ।”
उनले आफू कुनै अमुक दलको उम्मेदवार भएको भनि गरिएको प्रचारको खण्डन गरेका छन्। वर्तमान निर्वाचन प्रणालीका कारण पनि सक्षम उम्मेदवार आउन कठिन भएको दाबी गर्दै चुनाव खर्चिलो भएको बताए । “हामी गलत अभ्यासमा गइरहेका छौँ, वर्तमान निर्वाचन प्रणालीमा सुधारको आवश्यकता छ”, उनले भने ।
उनले आफू पैसा खर्च गरेर राजनीति गर्ने पक्षमा नरहेको स्पष्ट पारे। “मैले जानेको कुरा समाजलाई दिन्छु भनेर राजनीतिमा आएको हुँ, यदि मेरो सोच र विचार मिल्छ भने ठीक छ होइन भने म पैसा खर्च गरेर राजनीति गर्ने पक्षमा छैन ।”
FACEBOOK COMMENTS