तत्कालीन महासचिव मदन भण्डारीको दासढुंगा दुर्घटनामा निधन भएपछि उनको नामको राजनीति एमालेमा निकै फस्टायो, उनकै नाममा खुलेको फाउन्डेसनको बलमा ओलीले राजनीतिक शक्ति आर्जन गरे । नेकपा अध्यक्ष दाहालले भण्डारीकै सपना पछ्याउँदै पार्टी एकीकरण गरिएको भन्दै पूर्वएमालेको मन जित्न खोजे । तर भण्डारीको निधनको रहस्यको पर्दा २७ वर्षमा पनि उघ्रिन सकेन ।
काठमाडौँ — तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारीको असामयिक निधनले पर्वत मोदी गाउँपालिकाका इन्द्रप्रसाद उपाध्यायलाई गहिरो चोट लाग्यो । भण्डारीको अनुयायी समेत रहेका उपाध्यायकै अग्रसरतामा २०५० को असारमा पर्वतकै पातिचौरमा मदन–आश्रित प्रतीक्षालय बन्यो ।
भण्डारीकै सम्मानमा उपाध्यायले ०५९ मा जन्मिएका नातिको नाम मदन राखिदिए । ‘उहाँकै विचार र सिद्धान्तका आधारमा हामी यहाँसम्म आएका हौं, उहाँ भएको भए पार्टी र देश अर्कै बन्थ्यो,’ मोदी गाउँपालिका–५ का सदस्यसमेत रहेका उपाध्यायले भने, ‘मदन भण्डारीको विचारबाट कहिल्यै विचलित नभइयोस्, सम्झना आइरहोस् भनेरै नातिको नाम मदन राखें ।’ सडक विस्तारका क्रममा पातिचौरको उक्त प्रतीक्षालय त भत्काइयो तर उपाध्यायको मनमा मदन भण्डारी नै छन् ।
उपाध्यायजस्ता थुप्रै कार्यकर्ता भण्डारीको विचारका अनुयायी छन् भने कतिपयको आत्मीयता उनको नामसँग मात्रै पनि छ । तत्कालीन एमालेले पार्टी मातहतमै रहने गरी सुरु गरेको मदन–आश्रित प्रतिष्ठानले भण्डारीसित सम्बन्धित प्रकाशनका काम गर्दै आएको छ । मदन भण्डारी फाउन्डेसनका अनुसार देशका सबै जिल्लामा भण्डारीको नामसँग जोडिएको कुनै न कुनै संस्थारसंरचना छन् । मदन भण्डारी स्मृति प्रतिष्ठानले पूर्वमा काम गरिरहेको छ भने फाउन्डेसनको शाखा अधिकांश जिल्लामा छ ।
नेकपाभित्र भण्डारीसँगको सम्बन्धको व्याख्या पूर्वएमाले मात्रै होइन पूर्वमाओवादीका नेता कार्यकर्ताले पनि गरेका छन् । अध्यक्ष पुष्पकमल दाहालले गत फागुन ६ गते सुर्खेतमा भएको नेकपाको कार्यकर्ता प्रशिक्षणमा दाहालले आफू र भण्डारीबीच पुरानो मित्रता रहेको भन्दै वामपन्थी एकताका लागि बारम्बार सरसल्लाह पनि भइरहेको बताए । ०४५ सालमा आफू तत्कालीन मसाल र भण्डारी तत्कालीन मालेको महासचिव हुँदा वामपन्थी एकताका लागि पहल भएको भन्दै उनले अहिलेको एकीकरण त्यसैका आधारमा भएको व्याख्या गरे । गत भदौ ९ गते राष्ट्रपति विद्यादेवी भण्डारी र अध्यक्ष दाहालबीच शीतल निवासमा झन्डै साढे २ घण्टा भएको भेटको अधिकांश समय मदन भण्डारीकै विचार र उनीसँगको मित्रबारे कुराकानी भएको शीतल निवास स्रोतले बतायो ।
‘उहाँ एकदमै बाठो मान्छे, पूर्वएमालेको एउटा पंक्तिलाई आफ्नो पक्षमा ल्याउन भण्डारीको विचार र आफ्नो विचार समान छ भनिरहनुहुन्छ,’ भण्डारीलाई भेट्न शीतल निवास गइरहने एक नेताले त्यतिखेरै कान्तिपुरसँग भनेका थिए, ‘आज पनि भण्डारी र आफूबीच पुरानो दोस्ती रहेको बताउनुभएछ, जबजको आधारमै टेकेर पार्टी एकीकरणको कार्यभार पूरा गरिन्छ भन्नुभएछ ।’ त्यो बेला नेकपाभित्र पार्टीको मार्गदर्शक सिद्धान्त के हुने भन्ने विषयमा चलिरहेको रस्साकस्सी ठ्याक्कै बन्द भएर दुई अध्यक्ष एकातिर र वरिष्ठ नेता माधवकुमार नेपाल अर्कातिर थिए । त्यही बेला नै दाहाल पार्टीको कार्यकारी अध्यक्ष बन्नेबारे केपी शर्मा ओली र दाहालबीच गोप्य सहमति भएको थियो ।
दुई वर्षअघि पार्टी एकीकरणको घोषणा अध्यक्षद्वयले तत्कालीन नेकपा एमालेको बल्खुस्थित पार्टी कार्यालयमा रहेको मदनको शालिकलाई साक्षी राखेर गरेका थिए । नेकपाका सबै बैठकमा भण्डारीको तस्बिरलाई संस्थापक नेता पुष्पलालको भन्दा महत्त्वका साथ हेर्ने गरिन्छ । भण्डारीकै व्यक्तित्व र विचारबारे लामो समयदेखि अध्ययन अनुसन्धान गरिरहेका अनुसन्धानकर्ता रमेश राई मदनको व्यक्तित्वलाई अहिलको नेकपा र तत्कालीन एमालेले अनावश्यक उपयोग गरिरहेको बताउँछन् । ‘भण्डारीको निधन हुनुअघि नेपाल कम्युनिस्ट आन्दोलनमा कोही नेतालाई त्यति धेरै उपाधि दिने गरेको देखिएको थिएन, उनलाई सबैभन्दा पहिले उनकै पार्टीले जननेता भन्ने उपाधि दियो,’ राईले भने, ‘भण्डारीले सुरुवात गरेको विचारलाई जनताको बहुदलीय जनवाद भनेर पछि मात्रै नामकरण गरिएको हो, कसैको विचार नेकपाका नेताहरुले भनेझैं तत्कालै मार्गनिर्देशक सिद्धान्त बन्छ कि बन्दैन सोचनीय नै छ ।’
२०४९ मा भण्डारीले आफ्नो विचारलाई नेपाली क्रान्तिको कार्यक्रम मात्रै भनेका थिए । पछि व्याख्याताहरुले त्यसलाई नै जनताको बहुदलीय जनवाद भन्दै मार्गदर्शक सिद्धान्त बनाए । नेकपा अध्यक्ष ओली र वरिष्ठ नेता नेपालले पनि बारम्बार आफूलाई जबजको व्याख्याका रूपमा प्रस्तुत गरिरहेका हुन्छन् । ०५४ मा पार्टी फुट्दा मदनको विचार कसले धेरै बोक्ने भन्नेमा तत्कालीन माले र एमालेका नेताहरुबीच वाक्युद्ध नै भएको थियो । मालेमै पनि सीपी मैनालीबाहेकका नेताहरू जबजलाई आफ्नो मार्गनिर्देशक सिद्धान्त मान्थे । मालेका नेताहरु त भण्डारीको हत्याको दोषी एमालेका शीर्ष नेताहरु नै हुन भनेर खुलमखुल्लै भनिदिन्थे ।
तत्कालीन एमालेको पाँचौं महाधिवेशनअघि राष्ट्रिय परिषद्को बैठक भएको थियो । त्यतिखेर फरक मत र बहुमत भन्ने दुइटा पक्ष थिए । फरक मतको अगुवाई झलनाथ खनाल, सीपी मैनालीलगायतले गर्थे र उनीहरुले जनताको बहुदलीय जनवाद पार्टीको मार्गनिर्देशक सिद्धान्त बन्नै नसक्ने बताइरहेका थिए । जबजलाई दक्ष प्रजापतिको टाउको भनेका थिए तर त्यही विचारको व्याख्याता हुँ भन्दै उनै खनाल एमालेको अध्यक्ष भए र पछि प्रधानमन्त्री पनि बने । सायद यसै कारण अनुसन्धानकर्ता राई भन्छन्, ‘मदनले कोरेको विचारको घेराबाट नेपालका कम्युनिस्ट ब्रान्डका पार्टी र नेताहरु बाहिर निस्किनै सकेका छैनन् ।’ ठ्याक्कै राईकै तर्कझैं देखिन्छ नेकपा अध्यक्ष दाहालको व्यवहार पनि ।
०५० जेठ ३ गते दासढुंगा दुर्घटनामा भण्डारी र एमालेका तत्कालीन संगठन विभाग प्रमुख जीवराज आश्रितको निधन भएयता मदन–आश्रितको सम्झनारसम्मानमा नागरिक र पार्टीकै तहमा धेरै काम भएका छन् । नेकपा एमालेले संस्थागत निर्णयबाटै मदन–आश्रित स्मृति प्रतिष्ठान सञ्चालन गरेको छ भने मदन भण्डारी फाउन्डेसनको शाखा देशभर पार्टीको समानान्तर कमिटीझंै गरी विस्तार भएका छन् । मोरङको उर्लाबारीमा मदन भण्डारी स्मृति प्रतिष्ठान छ । फाउन्डेसन र प्रतिष्ठानमा तत्कालीन एमालेको ओली पक्षीय नेताहरुको वर्चस्व छ । भण्डारीकै नाममा खुलेका प्रतिष्ठान, शिक्षालय, बाटोघाटो, प्रतीक्षालयका नाममा सरकारका तर्फबाट पनि बर्सेनि करोडौं रकम विनियोजन हुँदै आएको छ । भण्डारीको विचारलाई बोकेर जाने भनेर एकथरीले त्यसैमा बहस चलाइरहँदा नेकपाले भने जनताको जनवादलाई आफ्नो पार्टीको कार्यक्रमका रूपमा पारित गरिसकेको छ । यसलाई २१ औं शताब्दीको जनवाद र जनताको बहुदलीय जनवादको ‘फ्युजन’ भनिएको छ ।
भण्डारीसँगको सम्बन्ध र उनको उन्नत विचारलाई सम्झिएर अरू कार्यकर्ताजस्तै नेकपाका दुवै अध्यक्ष पनि बेलाबेला भावुक हुन्छन् । स्थायी कमिटी सदस्य वेदुराम भुसाल भने भण्डारीका विचारमा भन्दा पनि उनको नाममा धेरै राजनीति भएको तर्क गर्छन् । ‘उहाँको विचार बोकेर हिँड्नेहरु कम छन्,’ उनले भने, ‘उहाँका नाममा राजनीति गर्ने काम धेरै हुन्छ ।’
‘गुटको घर’
गत माघको नेकपा केन्द्रीय कमिटी बैठक ओली पक्षीय नेताहरुको मत अलि कमजोर देखियो । केन्द्रीय नेताहरुले गुटको सुरुवात शीर्ष नेताहरुले नै गरेको र त्यस्ता बैठक फाउन्डेसन र प्रतिष्ठानका नाममा भइरहेको भन्दै चर्को आलोचना गरे । ‘फाउन्डेसनहरु गुटको अखडा भइरहेका छन्,’ केन्द्रीय सदस्य राजेन्द्र राईले भनेका थिए, ‘पहिले फाउन्डेसन र प्रतिष्ठानहरु भत्काऔं अनि अरू कुरा गरौंला ।’ त्यतिखेर नेकपाले गुटको राजनीतिलाई परास्त पार्ने भन्दै सबै एकजुट र संगठित हुने प्रस्ताव पारित गरेको थियो । तर लगत्तै ओली पक्षीय नेताहरुको भेला फाउन्डेसनको कार्यालयमा भयो । त्यतिखेर उनीहरुले पार्टीमा आफ्नो समूह कमजोर भएको निष्कर्ष निकाल्दै जनताको बहुदलीय जनवादका पक्षधरहरु एक हुनुपर्ने निर्णय गरेका थिए । लगत्तै उक्त समूहका नेताहरुले पूर्वएमालेहरु एक हुनुपर्ने भन्दै वरिष्ठ नेता नेपालसँग संवाद पनि थालेका थिए । यता नेपालसँगै निकट हुन खोजिरहेका अध्यक्ष दाहालले थाहा पाएपछि गत वैशाख २० गतेको सचिवालय बैठकमा ओलीलाई भनेका थिए, ‘तपाईंले फाउन्डेसनमा गुटहरुको भेला गरेर पार्टी विभाजनको तानाबाना बुन्दै हुनुहुन्छ ।’
ओलीलाई फाउन्डेसनका नाममा समानान्तर पार्टी चलाएको आरोप एमालेको सातौं महाधिवेशनपछि नै लागेको हो । खनालसँग पार्टी अध्यक्षमा पराजित भएपछि ओलीले फाउन्डेसनलाई समानान्तर कार्यालयजस्तै बनाएका थिए । ‘मदन भण्डारी फाउन्डेसन र मदन भण्डारी स्मृति प्रतिष्ठान पार्टीको आधिकारिक निर्णयमा खुलेका होइनन्, उहाँहरुले व्यक्तिगत रूपमा सञ्चालन गर्नुभएको हो,’ स्थायी कमिटी सदस्य वेदुराम भुसालले भने, ‘१० वर्षयता फाउन्डेसनका नाममा स्थानीय तहसम्मै गुटको विस्तार गर्ने काम भइरहेको छ ।’ ओली पक्षीय नेताहरु भने यसलाई भण्डारीको विचार प्रवद्र्धनका रूपमा मात्रै बुझ्नुपर्ने तर्क गर्छन् । ‘हामीले जनताको बहुदलीय जनवाद त विस्तार गर्ने नै हो,’ केन्द्रीय सदस्य एवं फाउन्डेसनका सदस्य गुरु बरालले भने, ‘यी संस्थाले मदनको विचारलाई संरक्षण गर्छन्, फाउन्डेसन जबजको स्कुल हो । गुटको खेती र पक्षधरता भनेर जसले भन्नुभएको छ, उहाँहरुको चस्मा नै दोषी हो ।’
अनुसन्धानकर्ता राई पनि भण्डारीका नाममा गुुटको खेती भइरहेको बताउँछन् । ‘आफू पक्षधर कार्यकर्तालाई संस्थागत गर्न नै यस्ता प्रतिष्ठान, फाउन्डेसन खोलिन्छन्,’ उनले भने । भण्डारीकै नाम जोडेर खोलिएका संस्थाहरु बग्रेल्ती छन् । मदन–आश्रित स्मृति प्रतिष्ठानबाहेकका सबै संस्था व्यक्तिगत तवरबाटै खुलेका हुन् । फाउन्डेसन र प्रतिष्ठानका अलावा मदन भण्डारी स्पोर्टस् एकेडेमी, मदन भण्डारी बौद्धिक मञ्च, मदन भण्डारी कला साहित्य प्रतिष्ठान, मदन भण्डारी संग्रहालय छन् । तिनमा आबद्ध हुने नेता कार्यकर्ता राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री ओलीनिकटकै देखिन्छन् ।
ओली निकटकाले मदन भण्डारीका नाममा संस्था खोल्न र गुटगत गतिविधि गर्न थालेपछि तत्कालीन एमालेको नवौं महावेशनको केही महिनाअघि नेता योगेश भट्टराईलगायतका नेताहरुले मदन भण्डारी अध्ययन केन्द्र नामको संस्था खोलेका थिए । त्यो संस्थाले महाधिवेशन अवधिभर नेता नेपाल समूहको पक्षमा काम गर्यो । अहिले त्यो संस्था क्रियाशील छैन ।
उघ्रिएन रहस्यको पर्दा
राष्ट्रपति विद्यादेवी भण्डारीले २०७० मा सुवर्ण ओलीले निकालेको ‘मदन भण्डारी जीवनी र व्यक्तित्व’ पुस्तकलाई अन्तरवार्ता दिँदै भनेकी थिइन्, ‘दासढुंगा दुर्घटनाको रहस्य पत्ता लगाउनुपर्छ र लाग्छ । सैद्धान्तिक रूपमा पार्टी यस विषयमा गम्भीर छैन भन्ने कुरा होइन, एकदम गम्भीर छ । तर व्यावहारिक रूपमा यसमा हात हालेर टुंगोमा पुर्याउने सन्दर्भमा चाँहि स्थिर र बलियो सरकार चाहिँदो रहेछ ।’
नयाँ संविधान जारी भएर नयाँ सरकार बनेपछि अथवा चुनाव गरेर नयाँ सरकार गठन भएपछि राजनीतिक स्थिरताको वातावरण भयो भने यो घटनाको छानबिन गर्नुपर्ने, रहस्य पत्ता लगाउनुपर्ने र पत्ता लाग्ने उनको भनाइ थियो । त्यसपछि उनै भण्डारी लगालग दोस्रो कार्यकालका लागि राष्ट्रपति निर्वाचित भइन् । उनले भनेअनुसार संविधान बन्यो, चुनाव भयो र स्थिर सरकार पनि आयो । तर २७ वर्षअघि भएको दासढुंगा दुर्घटनाको रहस्य पर्दाभित्रै लुकेको छ ।
उतिबेलै घटना छानबिन गर्न चारवटा आयोग बनेका थिए । दुर्घटनाको भोलिपल्टै सरकारले सर्वोच्चका पूर्वअतिरिक्त न्यायाधीश प्रचण्डराज अनिलको अध्यक्षतामा एक सदस्यीय आयोग बनाएको थियो । एक महिनामा उक्त आयोगले दासढुंगा दुर्घटना हत्या नभएर दुर्घटना नै भएको प्रतिवदेन सरकारलाई बुझाएको थियो । तत्कालीन एमालेले स्थायी कमिटी सदस्य केपी शर्मा ओलीको नेतृत्वमा जेठ ६ गते गठन गरेको छानबिन आयोगले असार ३ गते भण्डारीको हत्या नै भएको ठहर गर्यो । ‘दासढुंगा घटनाको सन्दर्भमा देखिएको सुनियोजित तथा व्यवस्थित षड्यन्त्र र घटनापश्चात् पनि मुख्य अभियुक्त ड्राइभर अमर लामाले पाइरहेको आडभरोसा तथा संरक्षणबाट यसको पछाडि गम्भीर र उच्चस्तरको षड्यन्त्र रहेको आयोगको ठहर छ,’ ओली आयोगले तयार पारेको प्रतिवेदनमा भनिएको छ, ‘षड्यन्त्रलाई नंग्याएर अपराधीलाई कठघरामा उभ्याउने दिशामा सरकारी संयन्त्र पूर्णरूपमा उदासीन तथा निष्क्रिय रह्यो ।’ त्यसपछि ओलीले बारम्बार सत्ताको सिँढी चढे । भण्डारीकै विचारको आडमा पार्टीभित्र बलियो मोर्चाबन्दी पनि गरे । तर उनले भनेझै षड्यन्त्रलाई नंग्याएर अपराधीलाई कठघरामा उभ्याउन कहिल्यै सक्रिय बनेनन् ।
त्यही वर्षको जेठ ६ गते नै मूल्यांकन मासिकको अगुवाइमा नागरिक छानबिन समिति गठन गरिएको थियो, त्यसको अगुवाइ पदमरत्न तुलाधरले लिए । ७ महिना लामो अध्ययनपछि समितिले उक्त घटनालाई षड्यन्त्रपूर्ण हत्याकाण्ड भन्दै निष्पक्ष छानबिनमा जोड दिएको थियो । त्यो बेला नागरिकले तुलनात्मक रूपमा तुलाधर नेतृत्वको छानबिन समितिमाथि भरोसा गरेका थिए । यता छानबिन अध्ययन चलिरहँदा उक्त दुर्घटनाको न्यायिक छानबिन गर्नुपर्ने माग गर्दै २ महिनासम्म आन्दोलन चल्यो । एम्नेस्टी इन्टरनेसनलको रिपोर्टअनुसार त्यो आन्दोलनमा भएको प्रहरीको धरपकडमा २० जनाको मृत्यु पनि भयो । नागरिक दबाबकै कारण सरकारले ०५१ सालमा सर्वोच्चका बहालवाला न्यायाधीश त्रिलोकप्रताप राणाको अध्यक्षतामा न्यायिक जाँजबुझ आयोग गठन गर्यो । तर उक्त आयोगले पनि घटनालाई भवितव्यका रूपमा व्याख्या गर्यो । त्यसपछि बाहिरी वृत्तमा दासढुंगा घटनाको स्मरण मेटिँएदै गए पनि एमाले वृत्तमा भने चर्चाको विषय भइरह्यो । ०५१ सालयताका हरेक जेठ ३ मा एमालेले जारी गरेका विज्ञप्ति र सार्वजनिक ठाउँमा नेताहरुले गरेको कार्यक्रममा घटना रहस्यमयी भएको भन्दै सत्यतथ्य पत्ता लगाउन माग गरिएको हुन्छ । तर आफै सत्तामा रहेका बेला बेवास्ता गरिन्छ ।
राष्ट्रपति भण्डारीका स्वकीय सचिवसमेत रहेका मदन भण्डारी फाउन्डेसनका कार्यसमिति सदस्य भेषराज अधिकारी आफूहरु घटनाको सत्यतथ्य बाहिर आउनुपर्छ भन्ने पक्षमै रहेको बताउँछन् । ‘हामीले विश्वमा विभिन्न घटना देखेका छौं, निकै लामो समय पत्ता लाग्दैन । यहींकै दरबार हत्याकाण्डको रहस्य पनि अहिलेसम्म पत्ता लागेको छैन,’ उनले भने, ‘दासढुंगा दुर्घटनाका सन्दर्भमा सरकारले काम पनि गरेको छ, पत्ता लगाएको छैन ।’
– बिनु सुवेदी ,कान्तिपुर दैनिक
FACEBOOK COMMENTS