भक्तपुर । मध्यपुर थिमि नगरपालिकाले कोरोनाको तेस्रो लहरसँग जुध्न स्वास्थ्य पूर्वाधार तयार गर्ने भएको छ ।
कोरोना महामारीको तेस्रो लहरले बालबालिकालाई विशेष प्रभाव पार्न सक्ने सम्भावना रहेकाले नगरपालिकाले नेपाल-कोरिया मैत्री नगरपालिका अस्पताल र स्वास्थ्य केन्द्रमा बालबालिकाका लागि विशेष वार्डको व्यवस्था गर्ने भएको हो ।
नगर सभामा प्रस्तुत आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा कोरोना सङक्रमणको निःशुल्क परीक्षण गर्ने, सङक्रमित गरिब र असहायको निःशुल्क उपचार गर्ने व्यवस्था गर्ने, कोरोना महामारीमा अग्रपङक्तिमा खटिने स्वास्थ्यकर्मी र कर्मचारीको प्रोत्साहन भत्ता प्रदान गर्ने कार्यक्रम उल्लेख गरिएको छ ।
पुरानो घनाबस्तीलाई व्यवस्थित मौलिक रूपमा विकास गर्ने र नयाँ बस्तीलाई व्यवस्थित रूपमा फराकिला सडकसहित आधुनिक रूपमा विकास गरिने नीति नगरपालिकाले बनाएको छ ।
मध्यपुर थिमि नगरपालिकाको कला, संस्कृति र सम्पदाको प्रवद्र्धन गर्न तथा आन्तरिक र बाह्य पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न मध्यपुर महोत्सवको आयोजना गर्ने, नगर सडक, गल्लीलाई उज्यालो र सुन्दर बनाउन मध्यपुर उज्यालो कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गर्ने, अरनिको राजमार्ग सुन्दर नगरदेखि नेपाल-कोरिया मैत्री नगरपालिका अस्पतालसम्म सडक बत्ती व्यवस्थापन गर्ने नीति नगरपालिकाले बनाएको गोरखापत्र दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS