काठमाडौं । असार ११ गते बिहीवारदेखि सार्वजनिक निष्कासनमा आएको मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ खरिदका लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले सर्वसाधारणमा ३ लाख ६३ हजार ४९२ कित्ता शेयर सार्वजनिक निष्कासनमार्फत विक्री खुला गरेको हो ।
छिटो अवधिभित्रै मागभन्दा बढी आवेदन परेकाले आईपीओ विक्री गर्न लागिएको हो । आइतवारसम्म कम्पनीको आईपीओका लागि मागभन्दा ६२ दशमलव ५२ गुणा बढी आवेदन परेको छ । आइतवार साझ पौने ६ बजेसम्म १७ लाख २५ हजार ६७८ जनाले २ करोड २७ लाख २६ हजार ८९० कित्ताको लागि आवेदन दिएको जानकारी सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले दिएको छ ।
सर्वसाधारणमा विक्री गर्न लागेको कुल रू. ३ करोड ८९ लाख बराबरको ३ लाख ८९ हजार कित्ता आईपीओमध्य कम्पनीले शून्य दशमलव ५ प्रतिशत दरको ६ हजार ५८ कित्ता कम्पनीका कर्मचारीहरुका लागि र ५ प्रतिशत दरको १९ हजार ४५० कित्ता सामुहिक लगानीकोषको लागि सुरक्षित गरी बाँकी ३ लाख ६३ हजार ४९२ कित्ता शेयर सार्वजनिक निष्कासनमा ल्याएको हो ।
यो आईपीओ खरिदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओलाई इक्रा नेपाल लिमिटेडले समयमै वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिमको संकेत गर्ने इक्रा एनपी आईआर डबल बि माइनस् रेटिङ्ग प्रदान गरेको छ ।
आईपीओ विक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयमार्फत आवेदन दिन सकिनेछ । साथै मेरो शेयर मार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ ।
हाल कम्पनीको चुक्तापूँजी रू. ८ करोड २२ लाख ५० हजार रहेको छ । संस्थापक तर्फ ६७ दशमलव ८९ प्रतिशत चुक्तापूँजी कायम रहेको कम्पनीले सर्वसाधारणमा ३२ दशमलव ११ प्रतिशत आईपीओ विक्री गर्न लागेको हो । आईपीओ पश्चात कम्पनीको चुक्तापूँजी रू. १२ करोड ११ लाख ५० हजार कायम हुनेछ ।
गत आर्थिक वर्ष ०७६/७७ सम्ममा रू. २ करोड ९६ लाख ७६ हजार खुद नाफा गरेको कम्पनीको प्रतिशेयर आम्दानी रू. ६ दशमलव ८५ र प्रतिशेयर नेटवर्थ रू. ११० दशमलव ८४ रहेको छ । वास्तविक प्रतिशेयर नेटवर्थका आधारमा कम्पनीको पहिलो शेयर कारोबारका लागि प्रतिकित्ता रू. ११० दशमलव ८४ देखि रू. ३३२ दशमलव ५२ सम्मको मूल्य रेञ्ज पाउने देखिन्छ ।
FACEBOOK COMMENTS