काठमाडौं, १२ मंसिर – प्रदेश १ सरकारले मोरङको बुढीगंगा गाउँपालिका–४ मा स्थापना गरेको मनमोहन प्राविधिक विश्वविद्यालयको पारामेडिकल भवन शिलान्यास गरिएको छ । बिहीबार प्राविधिक विश्वविद्यालयका कुलपति तथा प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले भवनको शिलान्यास गरेका छन् ।
बुढीगंगा गाउँपालिका–४ स्थित मनमोहन विश्वविद्यालयको परिसर क्षेत्रमै निर्माण हुने भवन गुणस्तरीय रूपले समयमै निर्माण गराउन प्रदेश सरकारले कुनै कसर बाँकी नराख्ने मुख्यमन्त्री राईले प्रतिबद्धता जनाए ।
प्रदेशमा मात्र नभएर देशभरिका लागि आवश्यक दक्ष प्राविधिक जनशक्ति उत्पादन गराउनका लागि प्राविधिक विश्वविद्यालय स्थापना गरिएको उनको भनाइ थियो । ‘देशलाई अब भनिखाने हैन, गरिखाने जनशक्तिको खाँचो छ । यसैले हामीले त्यो खाँचो पूरा गर्न प्राविधिक विश्वविद्यालयमा लगानी गरेका हौँ,’ मुख्यमन्त्री राईले भने ।
चारतले भवन दुई वर्षभित्र निर्माण सम्पन्न गरिने विश्वविद्यालयका प्रमुख डा. सुभाषश्री पोखरेलले बताए । यसको निर्माणको ठेक्का विराटनगरको पिएस जेभीलाई दिइएको छ । यो भवन निर्माणमा १२ करोड ३१ लाख रुपैयाँ लाग्ने जनाइएको छ ।
शिलान्यास कार्यक्रममा प्राविधिक विश्वविद्यालयका सहकुलपति तथा प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले आगामी शैक्षिक सत्रदेखि विभिन्न प्राविधिक विषयमा स्नातक र स्नातकोत्तर तहमा पठनपाठन सुरु गरिने बताए । – नयाँ पत्रिका दैनिक
FACEBOOK COMMENTS