काठमाण्डौ, भदौ ११ – मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले विभिन्न २२ निर्णय गरेको छ । बिहीबार बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता डा युवराज खतिवडाले सहन्यायाधिवक्तामा ज्ञान प्रसाद भुसाललाई नियुक्त गरी सरकारी वकिलको कार्यालय धनकुटामा पदस्थापन गर्ने निर्णय भएको बताए ।
यस्तै बैठकले बाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव बलराम रिज्याललाई विशेष आर्थिक क्षेत्र प्राधिकरणको कार्यकारी निर्देशकको जिम्मेवारी दिइएको छ भने इ–बिजनेश सम्ब्न्धी विधेयक तर्जुमा गर्नका लागि सैद्धान्तिक स्वीकृति दिइएको छ ।
यसैगरी सेनाका प्रमुख सेनानी सरोज कुमार अधिकारीसमेत तीन प्रमुख सेनानीहरुको बढुवा गरी पदस्थापन गरिएको छ भने १२ महासेनानीको सरुवा पनि गरिएको छ ।
बैठकले उच्च शिक्षाका लागि विदेशी विश्वविद्यालयमा अध्ययन गर्न जान चाहने विद्यार्थीहरुलाई अध्ययन अनुमति पत्र जारी गर्ने कार्य पुनः सुचारु गर्ने निर्णय पनि गरेको खतिवडाले जानकारी दिए ।
FACEBOOK COMMENTS