काठमाडौं, वैशाख ३० – मर्चेन्ट बैंकर एसोसिएशन अफ नेपाल (एमबीएएन) ले जनसम्पर्क हुने सम्पूर्ण सेवाहरू तत्कालका लागि स्थगित गर्न मर्चेन्ट बैंकहरूलाई आग्रह गरेको छ । नेपाल धितोपत्र बोर्डले हिजो बिहीबार गरेको पत्राचार तथा विद्यमान अवस्थालाई दृष्टिगत गर्दै तत्कालका लागि सेवा स्थगित गर्न एमबीएएनले आग्रह गरेको हो ।
विश्वव्यापी महामारीको दोस्रो लहरको रूपमा फैलिरहेको नोबेल कोरोना भाईरस (कोभिड–१९) का कारण संक्रमितहरूको संख्यामा दिनानुदिन बृद्धि भईरहेको भन्दै एसोसिएशनले सम्पूर्ण मर्चेण्ट बैंकरहरूले आफ्ना ग्रहकहरूलाई अनलाइनमार्फत धितोपत्र कारोबार गर्न अत्यावश्यक सेवा मात्र प्रदान गर्ने गरी कार्यालयबाट जनसम्पर्क हुने बाँकी सम्पूर्ण सेवाहरू हाललाई स्थगित गरिएको बताइएको छ ।
‘नेपाल सरकारले अत्यावश्यक कार्यबाहेक अन्य प्रयोजनका लागि घरबाट बाहिर निस्कनबाट सर्वसाधारणलाई रोक लगाई निषेधाज्ञा लागू गरेको अवस्थामा मर्चेण्ट बैंकरहरूलाई समेत नेपाल धितोपत्र बोर्डबाट सिष्टम सञ्चालनका लागि कार्यालयमा ३ जनाभन्दा बढी कर्मचारी नखटाउने गरि ‘वर्क फ्रम होम’मार्फत कार्य सञ्चालन गर्नुपर्ने निर्देशन प्राप्त भएको हुँदा ग्राहकवर्ग तथा कर्मचारीको स्वास्थ्यलाई ध्यानमा राखी संक्रमणको जोखिम कम गर्न निषेधाज्ञाको अवधिभर अनलाइन सेवालाई प्राथमिकतामा राख्न सबै ग्राहकवर्गमा नेपाल मर्चेण्ट बैंकर एशोसिएशन हार्दिक अनुरोध गर्दछ,’ एमबीएएनले शुक्रकार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
एमबीएएनले शेयर खरिदविक्री सम्बन्धी कार्यलाई अनलाइनमार्फत गर्न तथा शेयर विक्री गर्दा इडीआईएस मात्र प्रयोग गर्न समेत अनुरोध गरेको छ । अनलाइन कारोबारका क्रममा मेरो शेयर वाइडीआईएससम्बन्धी केही समस्या आइपरेमा कम्पनीको फोन नम्बर तथा वेभसाइटमा उल्लेख गरिएको इमेल र मोबाइलमा सम्पर्क गरी आफ्नो समस्या समाधान गर्न समेत एमबीएएनले अनुरोध गरेको छ ।
FACEBOOK COMMENTS