काठमाडौं, मंसिर २९ – बङ्गलादेशबाट ५० हजार मेट्रिक टन रासायनिक मल खरिद गर्न नेपाली सरकारी टोली बङ्गलादेश जाने भएको छ। नेपाल र बंगलादेशका सरकार-सरकारबीच (जीटूजी) मार्फत मल खरिदका लागि समझदारी गर्न नेपाली टोली मङ्गलबार जाने भएको हो।
सरकारी टोलीको नेतृत्व गर्दै कृषि सामग्री कम्पनीका प्रबन्ध निर्देशक नेत्रबहादुर भण्डारीका संयोजकत्वमा चार सदस्यीय टोली बङ्गलादेश जाने तयारी भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. योगेन्द्रकुमार कार्कीले जानकारी दिए। उनका अनुसार उक्त टोलीमा मन्त्रालयका सहसचिव कञ्चनराज पाण्डे, कम्पनीका खरिद महाशाखा प्रमुख विष्णुप्रसाद पोखरेल र मन्त्रालयका कृषि प्रसार अधिकृत अरुण जिसी रहने छन्।
टोलीले बङ्गलादेश सरकारलाई मल खरिदको प्रस्ताव बुधबार पेस गरेर सम्झौता गर्ने मन्त्रालयले जनाएको छ। यसअघि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेर रासायनिक मल खरिद गरिएको भन्दा सस्तोमा मल नेपाल आउने अनुमान गरिएको कृषि सामग्री कम्पनीका प्रबन्ध निर्देशक भण्डारीले जानकारी दिए।
खरिदको अन्तिम मूल्य बङ्गलादेशमा गएर सम्झौता गरेपछि मात्र थाहा हुने तर प्रतिमेट्रिक टन १४ डलरसम्म सस्तो पर्ने अनुमान गरिएको उनको भनाइ छ। विवादरहित रुपमा सरकारी मूल्यमा रासायनिक मल खरिद गरेर ल्याइने उनले जानकारी दिए।
यसअघि नै कम्पनीले बङ्गलादेशबाट ल्याइने रासायनिक मल ढुवानीका लागि कम्पनी छनोट गरिसकेको छ। ढुवानीका लागि कम्पनीले गत असोज ३ गते आह्वान गरेको अन्तर्राष्ट्रिय बोलपत्रअनुसार संयुक्त अरब इमिरेट्स (युएई) को जेन्ट्रेड एफजेडएफ कम्पनी छनोट भइसकेको छ। पाँच कम्पनीको आवेदन परेकामा जेन्ट्रेडले सबैभन्दा कम मूल्यमा ढुवानी गर्ने प्रस्ताव गरेको थियो।
कृषि सामग्री कम्पनी र जेन्ट्रेडबीच भएको सम्झौतामा ६० दिनभित्र ल्याइसक्नुपर्ने उल्लेख भए पनि प्रक्रियामा ढिलाइ हुँदा समस्या हुन सक्ने अनुमान गरिएको कम्पनीका अधिकारी बताउँछन्।
गत भदौमा दुई देशका सरकार प्रमुखबीच भएको टेलिफोन कुराकानीमा सापटीमा मल ल्याउने मौखिक सहमति भएको थियो। बङ्गलादेश सरकारले सुरुआती चरणमा सापटीमा दिने तयारी गरेता पनि पछिल्लो समय खरिद गरेर लैजानुपर्ने प्रस्ताव राखेको थियो। सापटीमा मल ल्याएर पुनः फिर्ता गर्दा दोहोराे खर्चसँगै झन्झटिलो भएको र बङ्गलादेश सरकारले समेत खरिद गरेर लैजान प्रस्ताव गरेपछि पुनः खरिद गरेर ल्याउन लागिएको हो।
FACEBOOK COMMENTS