काठमाडौं, चैत ३० – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–खनाल समूहलाई पार्टीमाथि धावा बोल्ने काम भए कारबाही गर्ने चेतावनी दिएका छन्।
नेपाल उत्पीडित जातीय मुक्ति समाजको राष्ट्रिय भेलालाई सोमबार काठमाडौंमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफूविरूद्धका सबै विरोध र टीकाटिप्पणीलाई सहँदै आएको तर पार्टीमाथि धावा बोल्ने काम भए कारबाही गर्ने चेतावनी दिएका हुन्।
उनले पार्टीलाई ध्वस्त पार्ने प्रयास भयोे भने ‘ठिक लगाउने’ चेतावनी दिए।
उनले भने, ‘पार्टीलाई ध्वस्त पार्न खोज्नुभयो भने। बघिनी तबसम्म चुप हुन्छ जबसम्म डमरुमाथि खतरा हुँदैन। पार्टीमाथि धावा बोल्नुभयो भने ठिक लगाइने छ। बोलिरहनुभएको छ तर म सीमा हेरिहेको छु। तपाईंहरूलाई मात्रै निष्कासन गर्न होइन हामीलाई पनि निष्कासन गर्न आउँछ भन्ने सम्झना राख्नुहोस्।’
उनले नेपाल समूहले आफूलाई गरेको कारबाही ‘किर्नाले भैंसी खाए‘ जस्तो भएको भनी व्यंग्य गरे।
प्रधानमन्त्री ओलीले बहुमतको सरकारको नेतृत्व गरेकाले आफूले राजीनामा नदिने उल्लेख गर्दै समर्थन फिर्ता लिन चुनौती दिए।
उनले आफूलाई कसैको समर्थन नचाहिएको भन्दै फिर्ता लैजान भने।
उनले भने, ‘प्यादाले मन्त्री खान्छ चेसमा। भुसुनाले लामखुट्टेले हात्ती खान्छ। उपियाँले मान्छे खान्छ। कति खान्छ ? तिनीहरूले कम्युनिष्ट आन्दोलन खान्छु भनेको त्यही हो। उपियाँले मान्छे खाएजस्तो। किर्नाले भैंसी खाँदैन। किर्नाले भैंसी खाएको देख्नुभएको छ कि छैन? यिनीहरूले गरेको हामीलाई कारबाही त्यस्तै हो। किर्नाले भैंसी खाएजस्तै। किर्नाले भैंसी खाने ? मनको यिनको रहर हो। तर किर्ना किर्नाकै ठाउँमा हुन्छ। भैंसी भैंसीकै ठाउँमा हुन्छ। सन्तोष गर्न पाइन्छ किर्नाले भैंसी खाएकै हो। भैंसी खायो खायो खायो पुटुक्क भयो किर्नु फुत्रुक्क झ्रयो। मजाले भैसी खायो, पुटुक्क भयो , फुत्रुक्क झर्यो। कति रोएका ? राजीनामा देऊ राजीनामा देऊ। हटाउन। हटाऊ ! समर्थन किन गरिरहन्छौ ? फिर्ता लैजाऊ। केही पनि गर्न नसक्ने राजीनामा देऊ, राजीनामा देऊ । मसँग बहुमत छ। बहुमतको सरकार छ। म किन राजीनामा दिन्छु ? बहुमतबाट हटाउन मन छ भने फिर्ता लिऊ। लैजाऊ। चाहिएको छैन तिम्रो समर्थन। लैजाऊ।’
FACEBOOK COMMENTS