काठमाडौं,कार्तिक १६ – बलात्कार उद्योगमा मुद्दा चलाइएका तत्कालीन सभामुख कृष्णबहादुर महराले आफूविरुद्ध राजनीतिक रूपमा फसाउने षड्यन्त्र रचिएको दाबी गरेका छन्।
संसद् सचिवालयकी महिला कर्मचारीमाथि बलात्कार गरेको आरोपको प्रतिवाद गर्दै उनले सभामुख पद र ओहदाको मर्यादा राखेको बयान शुक्रबार बन्द इजलासमा दिएका हुन्।
पाँच घण्टा लामो बयानमा महराले संसद् सचिवालयकी कर्मचारी रोशनी शाहीले दिएको किटानी जाहेरीको प्रतिवाद गर्दै काठमाडौं जिल्ला अदालतमा ‘इन्कारी बयान’ दिएको स्रोतले बतायो।
‘अदालत र प्रहरीसँग दिएको बयानमा संगति मिलेको छ। केही थप सन्दर्भका कुरा पनि आएका छन्,’ स्रोतले भन्यो, ‘एउटा सबालमा उहाँले मैले ओहदाको मर्यादा राखेको छु। पदको दुरुपयोग गरेको छैन भन्नुभएको छ। आफूलाई फसाउन राजनीतिक षड्यन्त्र रचिएको भनाइसमेत छ।’
महराले बयानमा जाहेरीमा भनिए झैं आफूले रक्सी नपिउने दाबी गर्दै सामान्य प्रकृतिको व्यक्ति रहेको कुरा राखेका छन्। ‘उहाँले आफूमाथि लगाइएको अभियोग झुटा हो भन्नुभएको छ। राजनीतिक प्रतिशोधका कारण अभियोग लगाइएको भन्ने भनाइ उहाँको छ,’ स्रोतले भन्यो, ‘आफूलाई फसाइएको हो भन्नेमै उहाँको जोड छ।’
महरालाई बलात्कार प्रयासमा सात वर्षसम्म कैद सजाय र पीडितलाई क्षतिपूर्तिको मागसहित जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले बिहीबार जिल्ला अदालतमा अभियोगपत्र दर्ता गरेको थियो।
बन्द इजलासमा राखिएको एउटा प्रकरणमा महराले पीडित भनिएकी महिलाको अभिभावक रहेकाले आरोप लगाएजस्तो व्यवहार गर्न असम्भव रहेको जबाफ दिएका छन्। ती महिलाको विवाहमा अभिभावकको भूमिका खेलेको दाबी उनको छ। पहिले आफ्नै घरमा बस्ने भएकाले भेट हुने गरेको पनि उनले बताएका छन्। संसद् सचिवालयमा काजमा ल्याइदिन कुरा राख्ने सन्दर्भमा शाहीसँग भेट भएको जिकिर महराको छ। शाहीले समायोजन नमिलेका कारण ‘आफू अन्यायमा परें’ भन्दै गुनासो राखेको पनि महराले बताएका छन्।
पारिवारिक रूपमा पटक–पटक आउजाउ हुने क्रममा भेट हुने गरेको महराले खुलाएका छन्। महराले अर्को एक सबालमा ‘हाडड्रिंक्स सेवन’ नगर्ने र कहिलेकाहीं औपचारिक समारोहमा थोरै मात्रामा ‘वाइन’ भने पिउने भनाइ राखेको स्रोतले जनायो। उनले रक्सी किनेको प्रसंगसमेत अस्वीकार गरेका छन्।
गत असोज १२ गते संसद् सचिवालयमा शाहीसँग संवाद हुँदा आक्रोशमा आएको देखेको भनाइसमेत उनको छ। स्वास्थ्य प्रतिकूलताका कारण शाहीले अस्पतालमा उपचार गराएको जानकारी पाएपछि विक्षिप्त अवस्था आउन नदिन सम्झाउने ध्येयले निजी गाडीमा सुरक्षाकर्मीसहित अन्दाजी बेलुका ७ बजेपछि उनको कोठा रहेको इलाकामा गएको भन्दै महराले आरोपको बचाउ गरेका छन्।
‘कोठामा जान खोजे पनि फोनसम्पर्क नभएपछि नजिकैको इलाकाबाट फर्किएको दाबी छ,’ स्रोतले भन्यो, ‘पीडित भनिएकी महिलाले दिएको जाहेरीमा उल्लिखित आरोप विक्षिप्त अवस्थामा भनेका कुरा हुन्। सत्य होइनन् भन्ने जिकिर छ।’आजको अन्नपूर्ण पोष्टमा समाचार छ ।
FACEBOOK COMMENTS