काठमाडौं, चैत १७- नेपाल उद्योग वाणिज्य महासंघले अत्यावश्यक बस्तुको आपूर्ति सहज बनाउन स्थानीय प्रशासन र प्रहरी समक्ष अनुरोध गरेको छ । विश्वभरी नै महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) रोगका कारण नेपाल सहित विश्वनै त्रासदीको अवस्थामा अत्यन्त जोखिम मोलेर उद्योग संचालन गरीरहेका उद्योगीहरूले उत्पादन गरेका वस्तुहरू एक जिल्लाबाट अर्को जिल्लामा लैजादा अनेकन समस्या व्यहोर्नु परेकाले आपूर्तिमा संलग्न उद्यमी व्यवसायीहरूलाई आ–आफ्नो स्थानबाट सहयोग पुरयाउन महासंघ स्थानीय प्रशासन र प्रहरी समक्ष अनुरोध गरेको हो ।
महासंघले आज एक विज्ञप्ति जारी गर्दै यस्तो अनुरोध गरेको हो । महासंघले विज्ञप्तिमा भनेको छ – यतिखेर मुलुकभित्र आर्थिक गतिविधि ठप्प छ । तथापी पनि हामीले अत्यावश्यक वस्तुहरूको आपूर्तिमा विशेष ध्यान दिनै पर्छ । संकटको यस घडिमा अत्यावश्यक वस्तुहरू जस्तो खाद्यान्न, औषधि लगायतका वस्तुहरू उत्पादन गरी उत्पादित वस्तुहरू आम सर्वसाधारणसम्म पुरयाउन नसकेमा मुलुक अझै ठूलो समस्यामा पर्न जानेमा कसैको दुईमत हुंदैन । यस अवस्थामा उद्योग व्यवसाय संचालन गरी उत्पादित वस्तुहरू आम सर्वसाधारणसम्म पुरयाउने काममा तपाई श्रमिक कामदारहरूको भूमिका अझ बढी महत्वपूर्ण हुने र मुलुकलाई कठिन पर्दाका बखत सदैव अग्रभागमा रहेर तपाईहरूले विगतमा निर्वाह गर्नुभएको भूमिकाको महासंघ मुक्त कण्ठले प्रशंसा गर्दछ ।
अतः यस अवस्थामा अत्यावश्यक वस्तु तथा सेवासंग सम्बन्धित उद्योग व्यवसायले अझ बढी उत्पादनहरू बढाई उत्पादित वस्तु निर्वाध रूपमा मुलुकभर पुरयाउने कार्यमा सबै श्रमिक कामदार दाजुभाई तथा दिदी वहिनीहरूबाट सदाझै महत्वपूर्ण सहयोग प्राप्त हुने विश्वास सहित सुरक्षाका सबै उपायहरू अवलम्वन गर्दै उत्पादन प्रक्रिया र आपूर्ति व्यवस्थापनमा सहभागी भई आजको कठिन अवस्थामा मुलुकलाई सहयोग गर्न महासंघ सम्पूर्ण श्रमिक कामदार दाजुभाई तथा दिदी बहिनीहरूमा हार्दिक अपिल गर्दछ । साथै अत्यन्त जोखिम मोलेर उद्योग संचालन गरीरहेका उद्योगीहरूले उत्पादन गरेका वस्तुहरू एक जिल्लाबाट अर्को जिल्लामा लैजादा अनेकन समस्या व्यहोर्नु परेकाले आपूर्तिमा संलग्न उद्यमी व्यवसायीहरूलाई आ–आफ्नो स्थानबाट सहयोग पुरयाउन महासंघ स्थानीय प्रशासन र प्रहरी समक्ष अनुरोध समेत गर्दछ ।