काठमाडौं – जलवायु परिवर्तनका कारण विश्वका महासागरहरुमा अक्सिजनको कमी भएपछि लाखौं समुद्री जीवहरु संकटमा परेका छन् ।
जलवायु परिवर्तन र खाद्य सम्बन्धी फोहोरका कारण समुद्रमा अक्सिजनको मात्रा कम हुँदै गएको र यसले माछाका विभिन्न प्रजातिहरु जोखिममा परेको वैज्ञानिकहरुले बताएका छन् ।
प्रकृतिका लागि काम गर्ने समूह आईयुसीयनको एक अध्ययनले हालै एक तथ्यांक सार्वजनिक गर्दै समुद्री जीवहरु संकटमा परेको जनाएको हो । जलवायु परिवर्तनकै कारण समुद्रमा पोष तत्वको कमी भएसँगै समुद्री जीवहरु संकटमा परेको तथ्यांकमा औंल्याइएको छ ।
महासागर नजिकको कारखाना र खेतीयोग्य जमिनबाट निस्केको नाइट्रोजन र फोस्फोरस जस्ता रसायनका कारण समुद्रमा रहेका जीवहरु संकटमा परेको उसको निष्कर्ष छ ।
अक्सिजनको कमीका कारण सबैभन्दा बढी जोखिममा टुना, मार्लिन र शार्कसहितका प्रजाति रहेको अनुसन्धानमा संलग्न वैज्ञानिकहरुले बताएका छन् ।
हाल ७ सय वटा महासागरमा अक्सिजनको कमी भएको बताइएको छ । झण्डै सात सय समुद्री क्षेत्र अहिले अक्सिजन कमीको समस्यामा रहेका छन् । सन् १९६० को दशकमा यो संख्या ४५ थियो ।हाल महासागरहरुमा बिगत ५० वर्षको तुलनामा अक्सिजनको मात्रा ४० प्रतिशतले कमी आएको पनि तथ्यांकमा उल्लेख छ ।
उत्सर्जनमा रोक नलगाएको खण्डमा सन् २१०० सम्ममा महासागरको अक्सिजनको मात्रामा चार प्रतिशतसम्म कमी आउने शोधकर्ताहरुको चेतावनी दिएका छन् ।-एजेन्सी
FACEBOOK COMMENTS