काठमाडौं, १ फागुन – राष्ट्रिय महिला लिगमा विराटनगर महानगरपालिकाले चौथो जित निकालेको छ । शनिबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको निकै प्रतिस्पर्धात्मक खेलमा उसले चौदण्डीगढी नगरपालिकालाई २–१ ले हराएको हो । विराटनगरका लागि दुवै गोल पार्वती घलेले गर्दा चौदण्डीका लागि मनिता तामाङले एक गोल गरिन् ।
खेलको सुरुवाती अग्रता भने चौदण्डीले लिएको थियो । उसका लागि खेलको ७औँ मिनेटमा मनिताले गोल गरेकी थिइन् । १५औँ मिनेटमा पार्वती गोल गर्दै खेललाई बराबरीमा ल्याइन् ।
पहिलो हाफ १–१को बराबरीमा सकिएको खेलको दोस्रो हाफमा विराटनगरले एक गोल थप्यो । खेलको ८५औँ मिनेटमा पार्वतीले व्यक्तिगत दोस्रो गोल गरेपछि विराटनगरले २–१ को रोमाञ्चक जित दर्ता गरेको हो ।
यो जितसँगै विराटनगरले १० खेलबाट १३ अंक जोड्दा पराजित भएको चौदण्डी अंकविहीन छ ।
FACEBOOK COMMENTS