काठमाडौं, माघ १५ – सावित्रा भण्डारी साम्बा चम्किएपछि सशस्त्र प्रहरीको एपीएफ क्लबले राष्ट्रिय महिला लिगमा लगातार चौथो जित दर्ता गरेको छ।
बिहीबार ललितपुरको सातदोबाटोस्थित एन्फा मैदानमा भएको खेलमा सावित्रा भण्डारीले ह्याट्रिक गरेपछि एपीएफले अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–० ले पराजित गरेको हो।
एपीएफले लगातार चौथो जित दर्ता गरेको दिन नेपाल पुलिस क्लवले भने लिगमा पहिलो हार व्यहोरेको हो।
एपीएफले ४ खेलबाट १२ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा छ। जारी लिगमा एपीएफले १८ गोल गरेको छ। एपीएफले खेलेका सबै खेलमा गोलरक्षक एञ्जिला तुम्बापो सुब्बाले क्लिन चिट राखेकी छिन्।
एपीएफले दोस्रो स्थानको पुलिससँग ७ अंकको दुरी बनाएको छ। तेस्रो स्थानमा रहेको आर्मीको ४ अंक छ।
सावित्राले खेलको ३२औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएकी थिइन्। उनले ५७ औं मिनेटमा सरु लिम्बुको पासमा गोल गर्दै अग्रता दोब्बर पारिन्।
८४औं मिनेटमा अनिता केसीको पासमा गोल गर्दै ह्याट्रिक पूरा गरिन्। महिला लिगमा साम्बाको यो तेस्रो हयाट्रिक हो। एपीएफले खेलेको ४ खेलमध्ये सावित्राले आर्मी बाहेकका सबै खेलमा गोल गरेकी छन्। लिगमा सावित्राको गोल संख्या १० पुगेको छ।
FACEBOOK COMMENTS