काठमाडौं । प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्र र अध्यक्ष दुबै नियम र संगतले नमिलेकाले अवैध रहेको नेकपा नेता तथा पूर्वमन्त्री प्रभु साहले बताएका छन् ।
रौतहटको मौलापुर नगरपालिकाको बजेट अधिवेशन उद्घाटन गर्दै नेता साहले हेटौँडा अधिवेशनपछि कुनै अधिवेशन नभएको र हेटौँडामा अधिवेशन भएको पार्टीको नाम नेकपा माओवादी केन्द्र नै नभएको स्पष्ट पार्दै निर्वाचन आयोगमा दर्ता नै नभएको पार्टीसित एकीकरण गरिएको तथा एकीकरण भएपछि कुनै अधिवेशन नै नरहेको हुनाले पार्टीको नाम र अध्यक्ष दुवै अवैध रहेको जिकिर नेता साहले गरेका छन् ।
देशमा रहेका सबै राजनैतिक दलको हकमा एकै किसिमको नियम लागू हुनुपर्नेमा कुन नियमले निर्वाचन आयोगले प्रचण्डलाई अध्यक्ष मानिरहेको हो भन्ने प्रश्न पनि नेता साहले गरेका थिए ।
२०६९ पछि पार्टीको कुनै अधिवेशन नै नभएको बताउँदै नेता साहले नौ वर्ष बित्दा पनि अध्यक्ष मानिरहेको निर्वाचन आयोगले विधिसम्मत कानुनी प्रक्रिया अगाडि बढाउनु पर्ने माग गरेका छन् । विधिसम्मत अधिवेशन पनि नगर्ने तथा अनिश्चित कालसम्म अध्यक्ष बनिरहन खोज्ने प्रचण्डको महत्वाकांक्षामा निर्वाचन आयोगले पार्टी र अध्यक्षको मान्यता दिइरहेर दलभित्रको लोकतन्त्रलाई पनि अवैधानिक बनाएको आरोप लगाएका छन् ।
मौलापुर नगरपालिकाको बजेट अधिवेशन चलिरहँदा प्रतिपक्षीहरुले विरोध प्रदर्शन गरेका छन् । गत ७ असारमा नगरपालिकामा ज्ञापनपत्र बुझाउँदै विभिन्न मागहरु राखेर ८ असारमा नगरपालिकाविरुद्ध प्रदर्शन गरेका नेपाली काँग्रेस, नेकपा एमाले (माधव समूह), माओवादी केन्द्रलगायतका दलका कार्यकर्ताहरुले विरोध प्रदर्शन गरेको आजको नागरिक दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS