काठमाडौं, माघ २७ – तामाङ समुदायको सांस्कृतिक पर्व ‘सोनाम ल्होसार’को अवसरमा माघ ३० गते सार्वजनिक बिदा दिने सरकारले निर्णय गरेकाे छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले सो दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
यसअघि सरकारले कार्यदिन बढाउन भन्दै ल्होछार, माघे संक्रान्ति लगायतका चाड पर्वको बिदा कटौती गरेको थियो ।
तामाङ समुदायले ल्होसारलाई सांस्कृतिक तथा धार्मिक पर्वको रुपमा मनाउने गर्दछ । तामाङ भाषामा ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ नयाँ भन्ने जनाउँछ । त्यसैले ल्होसारको अर्थ नयाँ वर्ष भन्ने हुन्छ ।
चन्द्रमास पात्रोअनुसार माघ शुक्ल प्रतिपदाको दिनलाई ल्होसार अर्थात नयाँ वर्ष मान्ने गरिन्छ । ल्होसारमा १२ वटा जीवजन्तुको नामबाट ल्हो खोर्लो अर्थात वर्ष चक्रको आधारमा हरेक वर्ष पुरानो वर्षलाई बिदाई र नयाँ वर्षलाई स्वागत गरी धार्मिक र सांस्कृतिक विधिअनुसार पर्व मनाउने गरिन्छ ।
FACEBOOK COMMENTS