काठमाण्डौँ — आगामी वर्ष सबै काम सक्ने गरी माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको रोकिएको निर्माण कार्य सुरु भएको छ ।
४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी आयोजना निर्माणस्थल पुग्ने सडकका कारण वैशाखदेखि काम रोकिएको थियो ।
यसले आयोजना सम्पन्न गर्ने समय झन्डै ६ महिना पछि धकेलिएको छ ।
पछिल्लो पटक यो वर्षको पुससम्म निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको थियो ।
सडकका कारण निर्माण कार्य रोकिएपछि पुससम्म सम्पन्न नहुने आयोजनाका प्रवक्ता गणेश न्यौपानेले बताए ।
सडकको दुरवस्थाका कारण आयोजनास्थलमा निर्माण सामग्री ढुवानी गर्न नसकिएको उनले बताए ।
आयोजनाको काम करिब ९६ दशमलव ४ प्रतिशत सकिएको छ ।
२०६७ मा निर्माण सुरु भएको आयोजनाको पहिलो युनिटबाट २०७३ साउनमा विद्युत् उत्पादन सुरु गर्ने लक्ष्य थियो ।
२०७२ वैशाखको भूकम्प र लगत्तै भारतीय नाकाबन्दीका कारण सामान ढुवानी र निर्माण रोकिएको भन्दै आयोजनाको पहिलो युनिटबाट उत्पादन सुरु गर्ने म्याद एक वर्ष थप गरी २०७४ साउन बनाइएको थियो ।
आयोजनाले यो म्यादमा पनि उत्पादन सुरु गर्न नसकेपछि पुस (२०१८ को डिसेम्बर) सम्म उत्पादन सुरु गर्ने लक्ष्य तोकिएको थियो ।
तर, सडक र ढुवानी समस्याका कारण डिसेम्बरमा पहिलो युनिटबाट विद्युत् उत्पादन सुरु गर्न समस्या रहेको आयोजनाले जनाएको छ ।
— कान्तिपुर
FACEBOOK COMMENTS