काठमाडौं – त्रिशुली जलविद्युत कम्पनी लिमिटेडले निर्माण गरिरहेको ३७ मेगाावाट क्षमताको माथिल्लो त्रिशुली ३ बी जलविद्युत आयोजनामा ३ बैंक तथा वित्तीय संस्थाले ५ अर्ब ७६ करोड रुपैयाँ लगानी गर्ने भएका छन् ।
नविल बैंकको अगुवाइमा जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेड र नेपाल बैंकले गरी सो रकम बराबर सोमबार ऋण लगानी सम्झौता गरेका हुन् । जलविद्युत कम्पनीको तर्फबाट प्रवन्ध निर्देशक मोहन गौतम र अगुवा बैंकको तर्फबाट नविलका कर्पोरेट विभाग प्रमुख ज्ञानेश्वर आचार्यले ऋण लगानी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
आयोजना बनाउन निर्माण अवधिको ब्याजसमेत ८ अर्ब २२ करोड रुपैयाँ लाग्ने कम्पनीले जनाएको छ । निर्माण अवधिको ब्याज मात्रै ७८ करोड रुपैयाँ हुने छ । जसमध्ये नेपाल विद्युत प्राधिकरण र नेपाल टेलिकमले इक्विटीको रुपमा २ अर्ब ४६ करोड रुपैयाँ लगानी गरेका छन् ।
आयोजना निर्माणको काम चीनको सिचुवान एनहे हाइड्रोलिक इन्जिनियरिङ कम्पनी लिमिटेडले गरिरहेको छ । विस्तृत डिजाइन, निर्माण प्रारुपमा निर्माण हुन लागेको हो ।
आगामी ३ वर्ष अर्थात २०२१ को मार्चमा सम्पन्न हुने छ । आयोजनाबाट वार्षिक २९ करोड युनिट बिजुली उत्पादन हुने कम्पनीले गरेको संभाव्यता अध्ययनले देखाएको छ । यस्तै सुख्खायाममा पनि ८ करोड २५ लाख ९० हजार युनिट बिजुली उत्पादन हुने छ ।
FACEBOOK COMMENTS