मदन तिमल्सेना/तनहुँ- संसारभरका मानिसहरुलाई कोरोना महामारीले त्रसित बनाईरहेको छ । धेरै देशहरुले यो माहामारीबाट बच्नको लागि लकडाउनको साहारा लिईरहेका छन् । नेपालमा पनि चैत्र ११ गते देखि लगातार लकडाउन गरिएको छ । अत्यावश्यक कामको सिलसिलामा सामाजिक दुरी कायम गर्नुपर्ने नियम लागु गरिएको छ । पछिल्लो समय नेपालमा कोरोना संक्रमितहरु बढेसगै लकडाउनलाई कडा पारिएको छ । लामो समयसम्मको लकडाउनले नेपालीहरुलाई गार्हो भईरहेको महसुस गर्दै नेपाल सरकारले राहत वितरण कार्यक्रम पनि अगाडि बढाईरहेको छ ।
तनहु जिल्लामा कोरोना संक्रमित मानिसहरु नभेटे पनि आईपर्न सक्ने विपतलाई मध्यनजर गर्दै विपद् व्यवस्थापन गर्न प्रमुख जिल्ला अधिकारी बद्रिनाथ अधिकारीको संयोजकत्वमा रहेको समितिले बुधवार तनहुका स्थानिय निकायहरुमा क्वारेन्टाईन स्थलहरु निर्धारण गरेको छ । क्वारेन्टाईन स्थल तोकेकै दिन बेलुका भानु नगरपालिका वडा नं. २ मा भानु ९ का काठमाण्डौबाट आएका व्यक्तिलाई क्वारेन्टाईनमा राख्नको ल्याईन्छ तर वडा नं २ का वडा अध्यक्ष अर्जुन बहादुर खड्काले बाहिरबाट आएको मान्छेलाई आफ्नो नगरपालिकाको क्वारेन्टाईन शारदा कलेजमा राख्न नदिने भनेर जिद्धी लिई एम्बुलेन्सबाट नै झर्न नदिएर मानवता बिरोधी कार्य देखाएका छन् । वडा अध्यक्ष खड्काले साँझको समय क्वारेन्टाईनमा भानु ९ का वडा अध्यक्ष सहित आएका व्यक्तिलाई आफ्नो हुकुमी शैलीमा प्रमुख जिल्ला अधिकारीले राख्नुपर्छ भन्दैमा म यो मानिसलाई राख्न नदिने भन्दै फर्काएका थिए । साँझमा शरण खोज्न आएको मानिसलाई त्यसरी फर्काएर वडा २ का अध्यक्षको मानवता बिरोधी कार्यले गर्दा सारै चिन्ता लागेको साथै उक्त व्यक्ति काठमाण्डौबाट आएको र वडा अध्यक्ष खड्काले राख्न नदिएका कारण राति नै दमौली लगेर परिक्षण गराई हाल घरमा नै क्वारेन्टाईनमा राखिएको वडा नंं. ९ का अध्यक्ष रामकुमार श्रेष्ठले बताए । साथै विपतको घडिमा आफ्नै नगरपालिकाका बासिन्दालाई क्वारेनटाईनमा बस्न नदिदा जनप्रतिनिधिप्रति जनताको विश्वास घटेको पनि बताए ।
उक्त कार्यको बारेमा प्रतिक्रिया लिन खोज्दा वडा अध्यक्ष खड्का औपचारिक रुपमा बोल्न चाहेनन । तर, अनौपचारिक कुराकानीमा उनले प्रमुख जिल्ला अधिकारीले क्वारेन्टाईन स्थल तोक्दैमा आफु नमान्ने र भानु नगरपालिकामा आफुभन्दा ठुला पदमा बस्नेहरुले गरेको घोटालाहरुको पछि लाग्न र आफ्नो पछि नलाग्न आग्रह गरेका थिए । प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालय तनहुका प्रमुख, नगर प्रमुख बैठकमा नै वडा अध्यक्ष खड्काले उक्त व्यक्तिलाई क्वारेन्टाईन स्थलमा बस्नको लागि एम्बुलेन्सबाट नै झर्न नदिएको भानु नगरपालिका स्वस्थ्य शाखा प्रमुख ऐश्वर्यचन्द्र भट्टराईले बताएका थिए । आदिकवी भानुभक्तको नामबाट नामाकरण भएको नगरपालिकाका वडा अध्यक्षले साँझको समयमा क्वारेन्टाईनमा बस्न आएको मानिसलाई बस्न नदिएर मानवता बिरोधी कार्य गरेपछि सर्वत्र उनको आलोचना भईरहेको छ । यसै कुरालाई सम्बोधन गर्न प्रमुख जिल्ला अधिकारी सहितको टोली उक्त स्थानमा पुगि क्वारेन्टाईन स्थल व्यवस्थित बनाउने कार्यहरु गरि आएको प्रमुख जिल्ला अधिकारी बद्रिनाथ अधिकारीले बताए । उक्त क्वारेन्टाईन स्थलमा भारतबाट आएका २ जना व्यक्तिलाई केहि दिन अगाडिबाट राखिएको थियो भने हाल भानु १ कल्याणटारका एकैपरिवारका ५ जना राखिएको छ ।
FACEBOOK COMMENTS