काठमाडौं, पुस १५- नेपाल राष्ट्र बैंकले उपदान तथा निवृत्तिभरण कोषमा रहेको १ अर्ब ४० करोड रुपैयाँ बैंक तथा वित्तीय कम्पनीमा लगानी गर्ने भएको छ ।
बैंकले आइतवार सूचना प्रकाशित एक वर्षे मुद्दती निक्षेपको रूपमा २०७६ माघ १ देखि २०७७ पुस २९ गतेसम्मका लागि लगानी गर्न लागेको जनाएको हो । बैंकका अनुसार ‘क’, ‘ख’ र ‘ग’ वर्गका राष्ट्रिय स्तरका कम्पनीहरुका लागि बैंकले निक्षेपमा राख्ने रकम छुट्याएको छ ।
जसका लागि वाणिज्य बैंकहरुले १ अर्ब १२ करोड रुपैयाँसम्म राख्न पाउने छन् । त्यस्तै, विकास बैंकले २१ करोड रुपैयाँ र वित्त कम्पनीले ७ करोड रुपैयाँ मुद्दती निक्षेपमा राख्न पाउने व्यवस्था रहेको छ ।
निक्षेपको रूपमा रकम लिन चाहने बैंकले केन्द्रीय बैंकले तोकेको शर्त पूरा गरी आवश्यक रकम र प्रस्तावित ब्याजदर समेत खुलाएर पुस महीनाको १६ गते दिउँसो ३ बजेभित्र निवेदन पेश गरिसक्नु पर्ने छ ।
बैंकहरूले प्रस्ताव गरेको ब्याजदर लगानी गरिने मितिसम्म मान्य हुने बताइएको छ । केन्द्रीय बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाको ब्याजदर परिवर्तनसम्बन्धी सार्वजनिक सूचनाले प्रस्तावित ब्याजदरलाई कुनै असर पारेको मानिने छैन ।
प्रस्ताव पेश गर्दा नेपाल राष्ट्र बैंक वित्त व्यवस्थापन विभाग, अवकाश कोष इकाईलाई सम्बोधन गर्नुका साथै अनिवार्य रूपमा उपदान तथा पेन्सन कोष लगानीको ब्याजदरसम्बन्धी प्रस्ताव पत्र भनी अनिवार्य उल्लेख गर्नुपर्ने बताइएको छ ।
यसको लागि सम्बन्धित बैंकले निश्चित शर्तहरु पालना गर्नुपर्ने पनि बैंकले बताएको छ ।
FACEBOOK COMMENTS