काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले १५ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव २०७५ को शुक्रबार राजधानीमा एक समारोहका बीच उद्घाटन गरेकी छन् ।
नेपाल घरेलु तथा साना उद्योग महासंघले राजधानीको प्रदर्शनीमागीस्थित भृकुटीमण्डप परिसरमा आयोजनामा गरेको १५ घरेलु उद्योग महोत्सव २०७५ को उद्घाटन समारोहमा बोल्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका प्रसाद यादवले लघु, घरेलु तथा साना उद्योगहरूको मुलुकको आर्थिक समृद्घिका लागि ठूलो योगदान रहेको बताए ।
समृद्घिको मुख्य आधार नै साना उद्योग भएको भन्दै उहाँले मुलुकमा उद्योग धन्दा सञ्चालन र विकासको वातावरण बनाउनेतर्फ सरकार केन्द्रित रहने बताएका छन् ।
उनले ‘समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने सरकारको नारालाई पुरा गर्नका लागि यस्ता उद्योगहरुको प्रवद्र्घन, विकासमा ध्यान दिनुपर्ने आवश्यकता उनले औैंल्याए ।
आर्थिक समृृद्घिको अभियानमा कुनै पार्टी या समुह नभनेर सबैलाई समेटेर अगाडि बढ्ने भन्दै मन्त्री यादवले भने –‘मुलुकमा ८०–९० वर्षदेखिको राजनीतिक व्यवस्था परिवर्तको आन्दोलन सकिएको छ, अबको आन्दोलन भनेको आर्थिक समृद्घिका लागि हो ।’
नेपालमा भएको कच्चा पदार्थ र कृषिजन्य उत्पादनको व्यवसायीकरण गर्नुपर्नेमा जोड दिंदै उनले भने – ‘कृषिप्रधान मुलुक जहाँ ५० प्रतिशत जनशक्ति कृषिमा लागेका छन् । तर सारा कृषिजन्य उत्पादन आयात गरेर खान्छौं ।’
नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष श्याम प्रसाद गिरीले मुलुकभर छरिएर रहेका लघु, घरेलु तथा साना उद्योगको उत्पादनको बजार प्रवद्र्धन गर्ने उद्देश्यका साथ २०५८ सालबाट नेपाल घरेलु तथा साना उद्योग महासंघले शुरु गरेको औद्योगिक प्रदर्शनी विभिन्न आरोह अवरोह पार गर्दै यसपटक १५औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योेग महोत्सव र तेश्रो प्रांगारिक कृषि मेला–२०७५ को नामबाट सञ्चालन भएको जानकारी दिए ।
मुलकले अहिले वार्षिक १२ खर्ब भन्दा बढीको वैदेशिक व्यापार घाटा व्यहोरिरहेको भन्दै उनले भने – ‘एकातिर हामी दैनिक उपभोग्य बस्तुका सामान समेत विदेशबाट आयात गरिरहेका छौं भने अर्कोतिर हाम्रा निर्यातयोग्य उत्पादन समेत निर्यात गर्न सकिरहेका छैनौं । निर्यातले मात्र हाम्रो व्यापारघाटा पुर्ति गर्नसक्ने अवस्थामा हामी छैनौं, अपितु स्वदेशी उत्पादनको उपयोगबाट मात्र हामीले यसलाई कम गर्न सक्छौं । त्यसैले हामीले यस मेलाको मूल उद्देश्य “मेहनत सिर्जना, उत्पादन र वस्तु मेरै” नेपालको र “नेपाली वस्तु प्रयोग गरौं नेपाली भएकोमा गर्व गरौं” भन्ने नारा मार्फत प्रकट गरेका छौं ।’
नेपाली स्थानीय घरेलु तथा साना उद्योगका उत्पादनको प्रवद्र्घन र बजारीकरण गर्ने उद्देश्यले शुरु भएको मेलाको “नेपाली वस्तु प्रयोग गरौं, नेपाली भएकोमा गर्व गरौं” र “मेहनत, श्रृजना, उत्पादन र वस्तु मैरै नेपालको” भन्ने नारा रहेको छ ।
समृद्ध नेपाल, सुखी नेपालीको नारालाई अभियानका रुपमा सञ्चालन गर्ने उद्घोष गरेको वर्तमान सरकारको कार्य मुलुकको समृद्धीतर्फ केन्द्रीत हुनुपर्ने परिप्रेक्ष्यमा मुलुकभरका झण्डै चार लाख लघु, घरेलु तथा साना उद्योगहरुलाई प्रतिबिम्बित गर्ने प्रदर्शनीको मुख्य उद्देश्य रहेको मेला संयोजक तथा महासंघका कार्यवाहक अध्यक्ष उमेश प्रसाद सिंहले बताए।
FACEBOOK COMMENTS