काठमाडौं,फागुन ४- मेगा बैंकले कतारको दोहा बैंकबाट २ अर्ब रुपैयाँभन्दा बढी व्यवसायिक ऋण नेपाल भित्र्याउने भएको छ । मेगाले दोहा बैंकबाट २ करोड अमेरिकी डलर (करीब २ अर्ब २५ करोड रुपैयाँ) ऋण ल्याउन लागेको हो ।
ऋण सम्बन्धी सम्झौतापत्रमा आइतबार मेगा बैंककी सीईओ अनुपमा खुञ्जेली र दोहा बैंकका नेपालस्थित कार्यालयका प्रमुख सुरजविक्रम शाहीबीच हस्ताक्षर भएको छ ।
दोहा बैंकले नेपालको बैंकमा लगानी गरेको यो पहिलोपटक हो । नेपाल राष्ट्र बैंकको स्वीकृति लगत्तै मेगा बैंकले यो रकम नेपालमा भित्र्याउने छ । कुल प्राथमिक पूँजीको शतप्रतिशत रकम विदेशबाट व्यवसायिक ऋण ल्याएर नेपालमा लगानी गर्न पाइने नेपाल राष्ट्र बैंकको व्यवस्था मेगा बैंकले दोहा बैंकबाट रकम ल्याउने प्रक्रिया थालेको थियो ।
नेपालको बैंकिङ प्रणालीमा देखिएको लगानी योग्यपूँजी (तरलता)अभावको समस्यालाई समेत मध्यनजर राख्दै दोहा बैंकबाट रकम भित्राउन लागेको मेगा बैंकले जनाएको छ । योसँगै बजारमा तरलताको अभाव अन्त्य भई सरल रूपमा कर्जा प्रवाह हुने र व्यवसायिक लगानीकर्ताहरुलाई राहत मिल्ने बैंकको विश्वास छ ।
मेगा बैंकले हाल देशभरका १११ शाखा, २९ एक्सटेन्सन काउन्टर, ११४ एटीएम सञ्जाल, ७९ शाखारहित बैंकिङ केन्द्रबाट सेवा प्रदान गर्दै आएको छ ।
FACEBOOK COMMENTS