काठमाडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कामदारलाई वैदेशिक रोजगारीमा पठाउने म्यानपावर कम्पनीहरूको धरौटी रकम ६ करोड पुर्याउने तयारी गरेको छ ।
मन्त्रालयले नयाँ बन्न लागेको वैदेशिक रोजगार ऐनमा म्यानपावर कम्पनीको धरौटी ६ करोड बनाउने प्रस्ताव अघि सारेको हो ।
म्यानपावर कम्पनीहरूलाई मर्जरमा जाने विकल्पसहित सो प्रस्ताव गरिएको श्रम मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार ‘कम्पनीहरूलाई गाभिन पाउने व्यवस्था गरेर ३ महिनासम्ममा ६ करोड धरौटी राख्नुपर्ने व्यवस्था गर्न लागेको बताएको छ ।
वैदेशिक रोजगार ऐन संशोधन भएमा म्यानपावर कम्पनीले ६ करोड धरौटी बुझाएर मात्र कम्पनी सञ्चालन गर्न पाउनेछन् ।
वैदेशिक रोजगारीमा जाने कामदारसँग केही म्यानपावर कम्पनीले ठगी गर्ने गरेको र कम रकम धरौटी हुँदा पीडितलाई राहत दिन नसकिएको भन्दै सरकारले म्यानपावर कम्पनीको धरौटी बढाउन लागेको हो ।
म्यानपवार कम्पनीको धरौटी बढाएमा ठगीमा परेका कामदारलाई न्याय दिन सहज हुने मन्त्रालयको ठहर छ ।
नेपालमा २ हजारभन्दा बढी म्यानपावर कम्पनी दर्ता भएर सञ्चालनमा छन् ।
वैदेशिक रोजगार व्यवसायीहरूले भने ६ करोड धरौटीको प्रस्तावलाई ठाडै अस्वीकार गर्ने बताइरहेका छन् ।
सरकारले नै मनपरी ढंगले इजाजतपत्र दिएकाले वैदेशिक रोजगारीको क्षेत्रमा विकृति बढेको व्यवसायीहरुको ठहर छ । सरकारले म्यानपावर सञ्चालनको नीतिगत व्यवस्थामा सुधार गर्नुपर्ने बताएका छन् ।
FACEBOOK COMMENTS