काठमाडौं, माघ २०- म्यानमारमा सेनाले कू गरि सत्ता हत्याएपछि त्यसको चौतर्फी विरोध भइरहेका बेला त्यसबारे छलफल गर्न संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदको बैठक बस्ने भएको छ । मंगलबार बस्ने बैठकमा सैन्य कू पछिको म्यानमारको अवस्थाबारे छलफल हुने जनाइएको छ ।
म्यानमारको सेनाले स्थानीय समय अनुसार सोमबार बिहानै सत्तारुढ नेशनल लिग फर डेमोक्रेसी (एनएलडी) पार्टीकी नेतृ आङ साङ सूकीसहित शीर्ष नेतालाई गिरफ्तार गरि सत्ता नियन्त्रणमा लिएको हो । सेनाले एक वर्षका लागि संकटकालको घोषणा समेत गरेको छ ।
गएको नोभेम्बर ८ मा भएको चुनावमा सूकीको पार्टी अत्याधिक बहुमत ल्याएर विजयी भएको थियो । तर सो चुनावमा धाँधली भएको आरोप लगाएको सेनाले निर्वाचित सांसदको पहिलो बैठक बोलाइएकै दिनको सबेरै सत्ता हत्याएको हो ।
म्यानमारमा भएको पछिल्लो राजनीतिक घटनाक्रमलाई मध्यनजर गरेर सो विषय छलफलको पहिलो प्राथमिकतामा ल्याउनु सुरक्षा परिषदका सदस्यहरु सहमत भएको संयुक्त राष्ट्रसंघमा बेलायती राजदूत बारबरा वूडवार्डले बताएकी छन् ।
FACEBOOK COMMENTS