काठमाण्डाै, पुस १३ – यस वर्ष गएको वर्षभन्दा ७० हजार मेट्रिक टन धेरै धान फलेको छ । कृषि तथा पशुपन्क्षी विकास मन्त्रालयले आज (साेमबार) सार्वजनिक गरेको तथ्याङ्कअनुसार यस वर्ष चैते र बर्खे गरी ५६ लाख २१ हजार सात सय १० मेट्रिक टन धान फलेको छ ।
पछिल्लो पाँच वर्षमा धानको उत्पादन ७ दशमलव ८४ प्रतिशत अर्थात् तीन लाख ९१ हजार मेट्रिक टनले बढेको पनि मन्त्रालयले जनाएको छ ।
यस्तै धान खेती हुने क्षेत्रफल पनि १४ हजार पाँच सय हेक्टरले बढेर १४ लाख ७३ हजार पाँच सय ५९ हेक्टरमा पुगेको छ ।
यस्तै धान उत्पादकत्व पनि शून्य दशमलव २८ प्रतिशतले बढेर अहिलेसम्मकै धेरै ३ दशमलव ८२ मा पुगेको छ । बेलैमा मनसुन सुरु भएको, गएकाे वर्षमा भन्दा ४ सय ४१ मिलिमिटर धेरै वर्षा भएको, लकडाउनले गर्दा जनशक्ति धानखेतीमा लागेको, बिउको सहजता, क्षेत्रफल विस्तारलगायतका कारण धान उत्पादन बढेको पनि मन्त्रालयले जनाएको छ ।
युरिया मलको अभाव भए पनि धान उत्पादनको ७० प्रतिशत हिस्सा ओगट्ने तराईका जिल्लाका किसानले भारतबाट अनौपचारिक रूपमा मल ल्याएर हालेको पनि मन्त्रालयको भनाइ छ ।
FACEBOOK COMMENTS