काठमाडौं, भदौ ५ – करिब ३ महिनासम्म कोरोना संक्रमण न्यून भएको युरोपमा फेरि बढेको छ। फ्रान्समा मात्र बिहीबार एकैदिन ४ हजार ७७१ नयाँ संक्रमित भेटिएका हुन्।
यो संख्या मे महिना यताकै सबभन्दा बढी हो भने बुधबार भन्दा १ हजारले बढी हो। बुधबार ३ हजार ७७६ मा संक्रमण पुष्टि भएको थियो। त्यस्तै मंगलबार २ हजार २३८ मा संक्रमण देखिएको थियो।
फ्रान्समा हालसम्म २ लाख ५६ हजार ५३४ संक्रमित भइसकेका छन्। जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार संक्रमितमध्ये ३० हजार ४३४ को ज्यान गएको छ। त्यस्तै ८४ हजार २१४ निको भएका छन्। यसैगरी स्पेन, जर्मनी र इटालीमा पनि संक्रमण बढेको छ। यी मुलुकमा पनि बिहीबार अप्रिल तथा मे महिना यताकै सबभन्दा नयाँ संक्रमित भेटिएका छन्।
बीबीसीका अनुसार बिहीबार स्पेनमा ३ हजार ३४९ नयाँ संक्रमित भेटिएका छन्। संक्रमितमध्ये अधिकांश युवा उमेरका रहेका छन्। हालसम्म स्पेनमा ३ लाख ७७ हजार ९०६ संक्रमित भइसकेका छन्। तीमध्ये १ लाख ५० हजार ३७६ निको भएका छन् भने २८ हजार ८१३ को ज्यान गएको छ।
बिहीबार जर्मनीमा १ हजार ७०७ मा संक्रमण पुष्टि भएको छ। संक्रमण पारिवारिक जमघट गरेका, भोजमा सहभागी भएका तथा अन्य देशबाट आएकामा देखिएको हो। हालसम्म जर्मनीमा २ लाख ३१ हजार २९२ संक्रमित भेटिएका छन्। जसमध्ये २ लाख ५ हजार ३५९ निको भएका छन् भने ९ हजार २६३ को मृत्यु भएको छ।
इटालीमा बिहीबार ८४० नयाँ संक्रमित भेटिएका छन्। त्यस्तै ६ जनाले ज्यान गुमाएका छन्। यसअघि बुधबार ६४२ मा संक्रमण देखिएको थियो भने मंगलबार ४०१ जना संक्रमित थपिएका थिए। इटालीमा हालसम्म २ लाख ५६ हजार ११८ संक्रमित भइसकेका छन्। जसमध्ये ३५ हजार ४१८ को ज्यान गएको छ। त्यस्तै २ लाख ४ हजार ६८६ निको भएका छन्।
FACEBOOK COMMENTS