काठमाडौं, मंसिर १९ –राष्ट्रिय प्रजातन्त्र पार्टी मकवानपुरले राजसंस्था र हिन्दू राष्ट्रको माग गर्दै शुक्रबार हेटौंडामा मोटरसाइकल र्याली गरेको छ। पार्टी कार्यालय सानोपोखराबाट नाराबाजीसहित निस्किएको र्यालीले बजारको महत्त्वपूर्ण स्थानहरुको परिक्रमा गरेको थियो।
प्रदर्शनका क्रममा राजा र हिन्दुत्वसँगै भ्रष्टाचार, धर्म परिवर्तन र बेरोजगारीलगायतका विषयमा चर्का नाराबाजी गरिएको थियो। शहर परिक्रमापश्चात् सीमा चोकमा आयोजित सभालाई पार्टीका नेताहरुले सम्बोधन गरेका थिए। कार्यक्रममा बोल्दै राप्रपा केन्द्रीय सदस्य मधु अधिकारीले जनताले परिवर्तन खोजेको र त्यो परिवर्तनकारी शक्ति राप्रपा हुने धारणा राखे।
कांग्रेस कम्युनिस्टको गलत नीति र अवधारणाले मुलुक समस्याको दलदलमा भासिएको भन्दै अधिकारीले राप्रपा अबको वैकल्पिक शक्ति भएको दाबी गरे। पार्टीका युवा नेता राजाराम बर्तौलाले राष्ट्रवाद र स्वाभिमानको दियो राप्रपाले बालिरहेको भन्दै यो दियो निभ्न नदिने बताए।
राप्रपाको नेतृत्वमा असली परिवर्तनको आन्दोलन अघि बढ्ने बर्तौलाले धारणा राखे। कार्यक्रममा केन्द्रीय सदस्य नवराज विष्ट, जिल्ला अध्यक्ष रामहरी न्यौपाने, युवा संगठन अध्यक्ष शुक्र प्रजालगायतले बोलेका थिए। पछिल्लो समय राजसंस्था र हिन्दू राष्ट्रको माग गर्दै देशभर प्रदर्शन भइरहेको अवस्थामा राप्रपा मकवानपुरले शुक्रबार पार्टीको ब्यानर र झन्डामा कार्यक्रम आयोजना गरेको हो।
FACEBOOK COMMENTS