काठमाडौं, कात्तिक १५ – आइपिएलमा राजस्थान रोयल्सले किंग्स-११ पञ्जावलाई ७ विकेटले पराजित गरेको छ। जितसँगै राजस्थानको प्लेअफ पुग्ने सम्भावना कायमै छ। अंक तालिकाको पाँचौ स्थानमा पुगेको राजस्थानले समूह चरणको अन्तिम खेलअघि १२ अंक जोडेको छ।
चौथो स्थानको पञ्जाव र छैटौं स्थानको कोलकता नाइट राइडर्सको पनि समान १२-१२ अंक नै छ।शुक्रबार अबुधाबीमा टस हारेर पहिले ब्याटिङ गरेको पञ्जावले ४ विकेटको क्षतिमा १८५ रन जोड्यो।
पञ्जावका लागि क्रिस गेलले सबैभन्दा बढी ९९ रन जोडे। राजस्थानका जोफ्रा आर्चरबाट बोल्ड भएपछि एक रनले शतक बनाउन चुकेका गेलले ६३ बलमा ६ चौका र ८ छक्का प्रहार गरे।
कप्तान केएल राहुलले ४६ रन र निकोलास पूरनले २२ रन जोडे। बलिङमा राजस्थानका आर्चर र बेन स्टोक्सले २-२ विकेट लिए।
१८६ रनको लक्ष्य राजस्थानले १७.३ ओभरमै ३ विकेटको क्षतिमा पूरा गर्यो। राजस्थानको जितमा प्लेयर अफ दि म्याच स्टोक्सले २६ बलमा ६ चौका र ३ छक्काको मद्दतमा ५० रन र सञ्जु सामसनले २५ बलमा ४ चौका र ३ छक्काको मद्दतमा ४८ रनको योगदान दिए।
कप्तान स्टिभ स्मिथले नटआउट ३१ रन र जोस बटलरले नटआउट २२ रन जोडेपछि राजस्थानले सहज जित निकाल्यो। बलिङमा पञ्जावका मुरुगन अस्विन र क्रिस जोर्डनले १-१ विकेट लिए।
आइपिएलमा शनिबार दिल्ली क्यापिटल्स र मुम्बई इन्डियन्स तथा रोयल च्यालेन्जर्स बेंग्लोर र सनराइजर्स हैदरावादबीच खेल हुनेछ।
FACEBOOK COMMENTS