भाद्र ३०,काठमाडौं– संयुक्त राष्ट्रसंघको ७६ औं महासभा मंगलबार राति न्युयोर्कमा सुरु भएको छ। राष्ट्रसंघका १९३ सदस्य राष्ट्रका प्रतिनिधिहरुलाई सेप्टेम्बर १४ देखि ३० सम्म हुने महासभाको जनरल डिबेटमा भाग लिन अवसरको रुपमा पनि यसलाई लिइन्छ। महासभामा विश्वले सामना गरिरहेको चुनौती र सदस्य राष्ट्रका समस्याहरुका विषयमा छलफल हुने गरेको छ।
नेपाली प्रतिनिधिमण्डलको भने महासभामा सहभागी हुने टुंगो लाग्न सकेको छैन। परराष्ट्र मन्त्रालयले प्रतिनिधिमण्डलबारे गृहकार्य भइरहेको उल्लेख गरे पनि कसको नेतृत्वमा कोको जाने भन्नबारे अझै टुंग्याउन सकेको छैन। परराष्ट्र मन्त्रालय सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवाले स्पष्ट निर्णय वा निर्देशन नगर्दा अलमल भएको परराष्ट्र मन्त्रालयका एक अधिकारीले बताए।
देउवाले महासभामा भाग लिन आफू नजाने प्रस्ट पारिसकेका छन्, तर उनले नेपालको नेतृत्व कसले गर्ने भन्ने निर्णय भने गर्न सकेका छैनन्। स्रोतका अनुसार कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की वा परराष्ट्र सचिवबाट मुख्यसचिव बनेका शंकरदास वैरागी वा परराष्ट्र सचिव भरतराज पौड्यालको नेतृत्वमा नेपाली टोली पठाउने गरी तयारी भइरहेको छ।
यताबाट कोही नगए राष्ट्रसंघका लागि नेपालको स्थायी नियोग प्रमुख अमृतकुमार राईले प्रतिनिधित्व गर्न सक्ने छन्। त्यसो गर्दा महासभाको दौरानमा हुने उच्च कूटनीतिक भेटवार्ता र महत्त्वपूर्ण कार्यक्रममा नेपालको सहभागिता कमजोर देखिने परराष्ट्र विज्ञहरुले बताएका छन्।
महासभामा नेपालका तर्फबाट प्रधानमन्त्री देउवाले भर्चुअल सम्बोधन गर्नेछन्, जसलाई परराष्ट्र मन्त्रालयले तयार गरेर न्युयोर्क पुर्याउनेछ। नेपालले सम्बोधन गर्ने विषयलाई लिएर परराष्ट्रले केही सार्वजनिक गरेको छैन।
FACEBOOK COMMENTS