काठमाडौं, वैशाख २४ – गृहमन्त्री तथा एमाले स्थायी कमिटी सदस्य रामवहादुर थापा बादलले जेठ ६ गते राष्ट्रियसभा उपनिर्वाचनको लागि उम्मेदवारी दर्ता गराएका छन् ।
पार्टीले निर्णय गरेपछि सिम्रिक एयरको हेलिकप्टरबाट एमाले निर्वाचन विभागका प्रमुख अग्नि खरेलसहितका हेटौंडा पुगेका बादलको प्रस्तावक वागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेल बसेका छन् । समर्थकमा सामाजिक विकासमन्त्री सरस्वती बस्नेत बसेकी छन् ।
वागमती प्रदेशबाट २०७४ फागुनमा भएको राष्ट्रियसभा निर्वाचनमा तत्कालीन माओवादी केन्द्रको उम्मेदवार बनेर एमालेको समर्थनमा जितेका बादल सर्वोच्चको फैसलापछि पुनःस्थापित एमालेमा प्रवेश गरेका थिए ।उनी एमाले प्रवेश गरेपछि माओवादीले रिक्त गराएको राष्ट्रियसभा सदस्यको उपचुनाव जेठ ६ गते हुँदैछ । बादलविरुद्ध एमालेकै माधव नेपाल पक्षका खिमलाल देवकोटा कांग्रेस र माओवादीको समर्थनमा उम्मेदवार बनेका छन् ।एमालेका मत विभाजित हुँदा अन्य दलसहित मिलेकाले बादल भन्दा देवकोटा बलियो देखिएका छन् ।यसबीचमा एमाले एकता प्रयास जारी रहे पनि अन्य दलले उम्मेदवार नदिएकाले राष्ट्रियसभा उपचुनावमा एमालेको मत एकै ठाउँमा नजाने देखिएको छ ।
FACEBOOK COMMENTS