 
			                  			              
काठमाडौं, चैत १७ – रेडियो प्रस्तोता एवं रूसी भाषाका प्रखर नेपाली अनुवादक कृष्णप्रकाश श्रेष्ठको निधन भएको छ। मस्कोस्थित एक अस्पतालमा उपचारका क्रममा उनको सोमबार निधन भएको हो। झण्डै एक महिनाअघि कोरोना संक्रमण भएपछि श्रेष्ठका अन्य स्वास्थ्य समस्याहरु बल्झिँदै गएका थिए। वि.सं.१९९५ साल मंसिरमा काठमाडौंको चुनिखेलमा जन्मिएका श्रेष्ठ सोभियत संघमा अध्ययन गर्न जाने पहिलो नेपाली विद्यार्थी मध्येका हुन्।
मस्को लोमोनोसोभ विश्वविद्यालयबाट सन् १९६३ मा पत्रकारितामा स्नातकोत्तर गरेलगत्तै उनले त्यतिबेला स्थापित रेडियो मस्कोमा नेपाली समाचार बाचकका रुपमा काम गरे। उनले विश्वप्रसिद्ध रुसी साहित्यकारहरुका कैयन रचनाहरु नेपाली भाषामा अनुवाद गर्नुका साथै नेपाली साहित्यिक कृतिहरुको पनि रुसी भाषामा अनुवाद गरी रुसमा नेपाली साहित्यको प्रचारमा महत्वपूर्ण योगदान पुर्याएका थिए।
उनले विश्व प्रसिद्ध रूसी साहित्यकारहरू लियो टाल्स्टाय, अलेक्सान्द्र पुश्किन, मिखाइल लेर्मोन्तोभ लगायत अन्य कैयन रचनाहरूको नेपाली भाषामा अनुवाद गरेका थिए।
त्यस्तै नेपाली साहित्यिक कृतिहरूको पनि रूसी भाषामा अनुवाद गरेर रुसमा नेपाली साहित्यको प्रचार गर्न महत्वपूर्ण योगदान दिएका थिए। श्रेष्ठका कैयन मौलिक रचनाहरू नेपालमा प्रकाशित छन्। जसमध्ये रुसमा नेपालको छवि, नेपाली समालोचक र समालोचना, नेपालभाषा साहित्य, नेपाली किम्बदन्ती माला आदि प्रसिद्ध छन्।
नेपालमा पशुपंक्षी को पूजा, यमलोकमा जिउँदो मान्छे (नेपाली दन्त्य कथा), लँगडा को साथी (लैनसिंह बाङ्देल), नेवारी साहित्य आदि उनले रुसी भाषामा सोभियत संघ र रुसमा प्रकाशित गरेका पुस्तकहरू हुन्। अनुवाद साहित्यलाई प्रवर्द्धन गर्ने उद्देश्यले उनले नै मस्कोमा विश्व भाषा अनुवाद संस्थाको पनि स्थापना गरेका थिए। राजनीतिक क्षेत्रमा उनले मार्क्सवादी साहित्यका चर्चित ग्रन्थहरू नेपाली भाषामा अनुवाद गरेर ख्याति कमाएका थिए। उनले मार्क्स र एञ्जेल्सद्वारा प्रतिपादित ‘द्वन्दात्मक भौतिकवाद’ दर्शनबारे रुसमा प्रकाशित पुस्तक र लेनिनका थुप्रै रचनाहरुको नेपालीमा अनुवाद गरेका थिए।

विदेशमा बसेर नेपाली भाषा र साहित्यको विकासमा दिएको अतुलनीय योगदानवापत उनलाई विस २०५९ सालको जगदम्बा पुरस्कारले सम्मानित गरिएको थियो। रुसमा पनि उनलाई पुश्किन स्वर्णपदक प्रदान गरिएको थियो। उनका दुई छोरी छन् ।

 
              
              
              
              		              
FACEBOOK COMMENTS