काठमाडौं, भदौ १ – सामाजिक सञ्जाल फेसबुकमा आइतबार चोभारको भ्यू प्वाइन्टमा सञ्चालित क्याफे बिक्रीमा भनेर विज्ञापन राखिएको छ । ‘पसल खरिद बिक्री’ फेसबुक पेजमा राखिएको रेष्टुरेन्टको मूल्य आपसी समझदारीमा निर्धाण गर्ने उल्लेख छ । सोही पेजमा अर्को रेष्टुरेन्ट पनि बिक्रीमा राखिएको छ । लगनखेल हनुमान मन्दिरनजिकै ६० सिट क्षमताको रेष्टुरेन्ट ३२ हजारमा बिक्री गर्न लागेको विज्ञापनमा उल्लेख छ ।
पसल खरिद बिक्री फेसबुक पेजमै कलंकी मकालु पेट्रोलपम्प नजिकै फेन्सी पसल पनि बिक्रीमा रहेको भनिएको छ । मीनभवन राधाकृष्ण मन्दिरनजिकै लेडिज फेन्सी सप पनि बिक्रीमा छ ।
अर्को फेसबुक पेज ‘पसल सटर किनबेच’ले काँडाघारी सूर्यमुखी चोकको पार्लर सुपथ मूल्यमा बिक्री गर्न लागेको भन्न्दै बिज्ञापन राखेको छ । सोही फेसबुक पेजमा शान्तिनगर ओमशान्ती चोकमा चलिरहेको होलसेल तथा खुद्रा कस्मेटिक पसल बिक्रीमा भनेर राखिएको विज्ञापन देखिन्छ ।
घरजग्गाको अनलाइन मार्केट प्लेस नेपालहोम्स डटकममा ठमेलको राम्रै होटललाई अर्जेन्ट बिक्रीमा भनेर राखिएको छ । साढे ६ आना क्षेत्रफलमा फैलिएको ६ तले होटलको मूल्य घरसहित १४ करोड तोकिएको छ ।
ललितपुरको कुपण्डोलमा लकडाउनअघि चल्तीमा रहेको बुटिक पसल २५ लाखमा बिक्री गर्न लागेको नेपालहोम्सको साइटमा देखिन्छ । यही साइटमै न्यूरोडको परफ्यूम र कुर्ता सलवारको पसल ११ लाख मूल्यमा बिक्रीका लागि राखिएको छ ।
कुमारीपाटीको पेट्रोलपम्प नजिकै रहेको ‘ओएमजी फेसन वेयर’ पसल बिक्रीमा लेखेर टाँसेको धेरै भइसक्यो, अझै किन्ने ग्राहक भेटिएका छैनन् । न्यूरोडको खिचापोखरीमा जीतनारायण डंगोलले पसल भाडामा भनेर राखेको ३ महिना पुग्नै आँट्यो । लकडाउन भएको लगत्तै खाली भएको कोठा भाडा मिलाएर दिन खोज्दा पनि कोही व्यापाररु आउन चाहिरहेका छैनन् ।
ठमेलका घरबेटी चन्दन कायस्थले घरभाडा ६० प्रतिशतसम्म छुट दिँदा पनि दुई व्यवसायी टिक्न नसक्ने ठानेर निस्किए । अरु धेरै घरबेटीले भाडा छुट दिँदा दिँदै पनि धेरै व्यवसायी पसल बन्द गरेरै भएपनि निस्किन थालेका हुन् ।
काठमाडौंका चल्तीका मलहरुमा छिर्दा धेरै पसल बिक्रीमा राखेको देखिन्छ । ७ साउनमा सरकारले लकडाउन खुला गरेपनि झम्सिखेलका धेरै रेष्टुरेन्टको गेट खुलेन । अहिले पुनः रेष्टुरेन्ट सञ्चालनमा रोक लगाइएको छ । यी त केही प्रतिनिधि उदाहरणमात्र हुन् ।
यतिबेला तपाईंहरु काठमाडौं उपत्यका फन्को मार्नुभयो भने जताततै ‘पसल बिक्रीमा’, ‘सटर भाडामा’, ‘घर भाडामा’ लेखिएका विज्ञापन छ्याप्छ्याप्ती देख्नुहुन्छ । व्यापारिक केन्द्रदेखि गल्लीमा सञ्चालित पसल वा रेष्टुरेन्ट सबै बिक्रिकै मुडमा छन् । कोरोना महाहारी बढ्दै जाँदा यो संख्या दिनदिनै बढिरहेको छ ।
३५ प्रतिशत पसल बिक्रिमा
नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवाल भन्छन्, ‘अहिले देशभर ३५ प्रतिशतभन्दा बढी व्यवसायीले पसल बिक्री गर्न खोजिरहेका छन्, महामारी लम्बिदै गएमा यो आँकाडा अझै बढ्दै जानेछ ।’ उनी थप्छन्, ‘अहिले पसल बिक्रीमा राखेर बिक्री हुनेवाला छैन्, उनीहरु चर्को घरभाडा तिर्नुभन्दा बरु पसल बन्द गर्न चाहिरहेका छन् ।’
पसल अगाडि मात्र होइन, चोक, गल्ली, सार्वजनिक स्थल, पार्क, सडकका खम्बामा पनि पसल तथा रेष्टुरेन्ट बिक्रीमा राखेको विज्ञापन देखिन्छ ।
राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष कटुवाल भन्छन्, ‘काठमाडौं उपत्यकाका प्रमुख व्यापारिक केन्द्रहरु न्यूरोड, बानेश्वर, सुन्धारा, असन, इन्द्रचोक, पुतलिसडक, कुमारीपाटी, लगनखेल, ठमेल, झम्सिखेल, सानेपा, चाबाहिल, नयाँ बसपार्कमा पनि धेरै पसल तथा रेष्टुरेन्ट बिक्रीमा राखिएको छ, अर्थात् पसल बन्द गर्ने क्रम जारी छ ।’
४ महिनादेखि बन्द सटरको घरभाडा तिरितिरी व्यापार नै नहुने पसल खोल्नुभन्दा उनीहरु घरतिरै बस्न चाहिरहेका छन् । कतिपयले पछि काठमाडौं आएर नयाँ व्यवसाय गर्ने सोँच बनाइरहेको कटुवाल बताउँछन् । व्यवसायी सम्पर्कमा नआएका धेरै घरधनीले आफै सटर भाडामा लगाउन पनि सुरु गरिसकेका छन् ।
सरकारले तीन महिना लामो लकडाउन ७ साउनदेखि खुला गरेर व्यापार व्यवसाय निर्वाध रुपमा सञ्चालन गर्न दिने भनेपछि व्यवसायी उत्साहित भएका थिए । व्यवसायीले ढुसी पलाएका होटल र रेष्टुरेन्ट सफा गरेर सञ्चालनमा ल्याए । तर, संक्रमित र मृतकको संख्या अत्यासलाग्दो ढंगले बढ्न थालेपछि सरकारले अत्यावश्यक बाहेकका सबै व्यापार, व्यवसाय बन्द गर्न निर्देशन दियो ।
अहिले रेष्टुरेन्टले होम डेलिभरीको सेवामात्र दिन पाउँछन् । ग्राहकले रेष्टुरेन्टमा बसेर खान पाउँदैनन् । त्रिशाराका सञ्चालक सोभनबीर मालाकारले दोस्रो पटकको कडाईले रेष्टुरेन्ट व्यवसायीहरु झन समस्यामा परेको बताउँछन् ।
FACEBOOK COMMENTS