२२ मंसिर,काठमाडौं। राष्ट्र बैंकको मौद्रिक समीक्षालाई लिएर ऐतिहासिक बिन्दुले घटेको सेयर बजारले एकै दिनमा लय समातेको छ।
आइतबार बजारमा ट्रिपल डिजिटको गिरावटपछि राष्ट्र बैंकले वित्तीय स्थायित्वमा प्रभाव पर्ने बेलामा मात्रै सेयरसँग सम्बन्धित बुँदा चलाउने प्रष्टीकरण दिएसँगै सोमबारको बजार लयमा फर्किएको हो।
बजारमा हालसम्मकै उच्च बिन्दुको गिरावट आएपछि संसदिय समिति देखि लगानीकर्ताका संघ संगठनहरुसम्मले राष्ट्र बैंकका अधिकारीहरुसँग छलफल गरेका थिए।
बैंकले आइतबारनै सेयर धितो कर्जाको सिमा घटाइनसकेको र सरोकारवालासँग छलफल नगरी निर्णय नलिने बताएपछि सोमबारको बजार पुनः हरियाली भएको हो।
राष्ट्र बैंकले तीन महिनाअघि मात्रै सेयर धितो ऋण मूल्यांकनको ६५ प्रतिशतबाट ७० प्रतिशतसम्म पाइने ब्यवस्था गरेको थियो। सेयर बजार बढेर अहिलेसम्मकै उचाइ कायम गरेपछि राष्ट्र बैंकले कतै ऋण लगानीका कारण बढेको होइन भनेर पुनरावलोकन गर्न खोजेको हो।

आइतबारको बजारलाई अर्थमन्त्रालयदेखि संसदीय समितिसम्मले नजिक बाट हेरेका थिए। यस विषयमा अर्थसमितिले त राष्ट्र बैंकका गभर्नरसँग कुरा समेत गरेको थियो। यसै विषयलाई लिएर आगामी शुक्रबारसम्म समितिको बैठक राखेर गभर्नरलाई बोलाउनेसम्मको तयारी गरिएको छ।

सोमबार सुरुवाती एक घण्टासम्म निकै अस्थिर देखिएको बजार १२ बजेपछि भने बिस्तारै लयमा फर्किएको थियो। सुरुवाती समयमा ५५ अंकसम्म बढेको बजार एकैछिनमा ३० अंक सम्म तल झरेको थियो। त्यसपछि भने बजार ठूलो अंकमा तल-माथि नभएर निरन्तर उकालो लाग्दै पुनः २ हजारको बिन्दु पार गरेर रोकिएको हो। सूचक २००४ अंकमा रोकिएको छ।

सोमबार पनि नेपाल पुनर्बीमा कम्पनीको सेयर सर्वाधिक किनबेच भएको छ। गत बिहीबारदेखि नै पुनर्बीमा कम्पनीको सेयर दैनिक एक अर्ब रुपैयाँ भन्दा बढीको किनबेच भइरहेको छ। सोमबार पनि पुनर्बीमाको सेयर १ अर्ब रुपैयाँ भन्दा बढीको किनबेच भएको छ। यो कम्पनीको बिहीबार एक अर्ब ११ करोड र आइतबार एक अर्ब १६ करोड रुपैयाँको कारोबार भएको थियो।
नेपाल लाइफको करिब ४८ करोड रुपैयाँको सेयर किनबेच हुँदा नेपाल टेलिकमको ३३ करोड, प्रभु बैंक र शिवम् सिमेन्टको करिब २५/२५ करोड रुपैयाँको सेयर किनबेच भएको छ।
प्रभु बैंकको साढे सात लाख कित्ता सेयर किनबेच हुँदा पुनर्बीमाको पनि झण्डै सात लाख कित्ता र माथिल्लो तामाकोशीको ४ लाख कित्ता सेयर किनबेच भएको छ। पुनर्बिमाको करिब ७ हजार पटक सेयर किनबेच हुँदा नेपाल लाइफ, प्रभु बैंक र माथिल्लो तामाकोशीको सेयर पनि २/२ हजार पटक किनबेच भएको छ।
सबै उपसूचक समेत हरियो भएको बजारमा सबैभन्दा धेरै जीवन बीमा समूहको सूचक करिब ७०० अंकले वृद्धि भएको छ। हिजो यो समुहको सूचक एक हजार अंक भन्दा बढीले घटेको थियो।
निर्जीवन बीमा समुहको सूचक पनि ४०० अंक भन्दा बढीले वृद्धि हुँदा उत्पादन समूहको सूचक २२४ अंक, व्यापार समूह १३० अंक र लघुवित्त समूहको सूचक पनि १२७ अंक भन्दा बढीले वृद्धि भएको छ।
नारायणी डेभलपमेन्ट बैंक, माथिल्लो तामाकोशी, ग्लोबल आइएमई लघुवित्त, रसुवागढी हाइड्रोपावर, साञ्जेन जलविद्युत कम्पनी, नाडेप लघुवित्त र विशालबजार कम्पनीको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ।
१० वटा कम्पनीको मात्रै सेयर मूल्य घटेको बजारमा ५ भन्दा बढी म्याचुअल फण्डको मात्रै मूल्य घटेको छ। कुनै पनि कम्पनीको मूल्य २ प्रतिशत भन्दा बढीले घटेको छैन।