काठमाडौं, चैत १७ – ललितपुर महानगरपालिकाभित्र अपाङ्गतामैत्री सवारीसाधान सञ्चालनमा आएको छ । महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले स्वावलम्बन जीवन पद्धति केन्द्र ललितपुरका अध्यक्ष भोजराज श्रेष्ठलाई बहुअपाङ्गता भएका व्यक्तिको हितमा एक क्याब व्यवस्था गरिदिएर सोको साँचो हस्तान्तरण गरे ।
सो सवारीसाधन दैनिक सञ्चालन गर्न चाहिने एक चालक, इन्धन, सवारी बीमा, ब्लु बुक नविकरण आदिका खर्च महानगरपालिकाले सबै व्यहोर्ने महर्जनले जानकारी गराए ।
स्वावलम्बन जीवन पद्धति केन्द्र ललितपुरका अध्यक्ष श्रेष्ठले सो अपाङ्गतामैत्री सवारी साधन अर्थात क्याब महानगरपालिकाभित्र रातो र निलो अपाङ्गता परिचयपत्र प्राप्त व्यक्तिका जुनसुकै आवश्यक काम पर्दा लान र लैजान प्रयोग गरिने बताए ।
सो सवारीसाधन नेपालमा पहिलो पटक भित्रिएको र यसको खरिदका लागि महानगरपालिकाले रु २० लाख, केन्द्र ललितपुरले रु तीन लाख ५० हजार र इरुका इन्डिपेन्डेन्ट लिभिङ्गले रु १६ लाख ७५ हजार रकम खर्च गरेका ललितपुर महानगरले जनाएको छ ।
FACEBOOK COMMENTS