काठमाडौं, पुष ९ – कोरियन भाषाको ईपीएस परीक्षामा सहभागी परीक्षार्थीहरुलाई प्रलोभनमा पारी परीक्षा दिने एक व्यक्ति पक्राउ परेका छन्।
पक्राउ पर्नेमा रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिका–८ स्थायी घर भई हाल काभ्रेपलाञ्चोक पनौती नगरपालिका–७ नयाँ बस्ती बस्ने रोजबहादुर तामाङ रहेका छन्।
तामाङ समेतका व्यक्तिहरुले ईपीएस परीक्षामा सहभागी हुने परीक्षार्थीहरुलाई प्रलोभनमा पारी प्रतिव्यक्ति पाँच लाख रुपैयाँसम्म लिई आफै नक्कली परीक्षार्थी बनेर परीक्षा दिई परीक्षा पास गराई कोरिया पठाउने कार्यमा वर्षौदेखि संलग्न रहँदै आएको प्रहरीले जनाएकोे छ।
तामाङलाई भक्तपुरको सुर्यविनायक नगरपालिका–१०, चितापोलबाट पक्राउ गरी आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी वृत्त, जगातीमा पठाईएको छ।
यसअघि विद्यार्थीहरूलाई प्रलोभनमा पारी सात लाख रुपैयाँसम्म लिएर परीक्षा दिने काठमाडौंको बागबजारमा रहेको सेन्सेगे कन्सल्ट्यान्सीका प्रशिक्षक उत्तममान लिम्वुलाई प्रहरीले पक्राउ गरेको थियो ।
