काठमाडौं, असोज १५ – पुल्चोक स्थित श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले २१ औँ वर्ष पुरा गरी २२ औँ वर्षमा प्रवेश गरेको छ । २२औँ वार्षिकोत्सवको अवसरमा संस्थाका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले मुलुकको आर्थिक क्षेत्रको विकासमा संस्थाले गरेको योगदानको चर्चा गरे ।
उनले २१ वर्षको अवधिमा संस्थाले आफ्नो लगानीमा आज श्री लालीगुँरास दुग्ध प्रशोधन उद्योग स्थापना गरी दुधजन्य पदार्थ बिक्रि गर्न शुरु गरेको जानकारी दिए । संस्थाले गोदावरीमा दुग्ध प्रशोधन उद्योगको उद्घाटन गरी व्यावसायिक रुपमा दुध, दही, मोही, नौनी, ध्युको बिक्रि वितरण शुरु गरेको छ ।
चितवनको खैरहनीमा नेपाल कै सबैभन्दा ठुलो गाई फार्म स्थापना गरेर उत्कृष्ट संस्थाको पहिचान बनाउन सफल यस सहकारीले आफ्ना सदस्यलाई थप सुविधा दिँदै जाने उनले प्रतिबद्धता जनाए । भण्डारीले संस्थाले आगामी वर्षमा थप नयाँ कार्यक्रम र योजनाहरु अगाडी बढाउदै लैजाने बताए ।
संस्थाले आजैबाट संस्थाको एटीएम सेवा शुरु गरेको छ । संस्थाका अध्यक्ष अमरदास श्रेष्ठले एटीएमको उद्घाटन गर्नेछन् । पुल्चोकस्थित मुख्य कार्यालयमा राखिएको एटीएममा आजै देखि सेवा सुरुवात गरिनेछ ।
संस्थाका प्रमुख कार्यकारी अधिकृत भण्डारीले संस्थाले निकट भविष्यमा आफ्ना अन्य सुविधा काउण्टरहरुमा समेत एटीएम बुथ स्थापना गरी सेवा दिने बताए ।
संस्थाले ललितपुरको चापागाँउ, काठमाडौं चाबहिल र न्यूरोड, भक्तपुरको कौशलटार र चितवनको पर्सामा सदस्य सुविधा काउण्टर संचालन गरेको छ । संस्थामा हाल २१ हजार शेयर सदस्य छन् । साथै ३ सयभन्दा बढी व्यक्तिहरुलाई प्रत्यक्ष रुपमा रोजगारी समेत उपलब्ध गराएको छ ।
FACEBOOK COMMENTS