असार १६ -भन्सार छलेर ल्याएको बिँडी बैतडी प्रहरीले बरामद गरेको छ । बिँडी लुकाइराखेको अवस्थामा सोमबार गोठलापानी बजार क्षेत्रबाट बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए ।
भारतबाट अवैधरुपमा ल्याइ लुकाइ राखेको अवस्थामा करीब २ लाख बराबरको ६ पेटी बिँडी बरामद गरिएको प्रहरी नायव उपरीक्षक अधिकारीले जानकारी दिए । बरामद भएको बिँडी मंगलबार महाकाली भन्सार कार्यालयलाई बुझाइने उनले बताए । प्रहरीले यसअघि असार १४ गते राती पनि दशरथचन्द नगरपालिका ८ नल्तडीबाट करीब डेढ लाखको बिँडी बरामद गरेको थियो । भन्सार छलेर ल्याएको बिँडी भन्सार कार्यालयलाई बुझाएको प्रहरी नायव उपरीक्षक अधिकारीले बताए ।
यसैबीच सोमबार राती बैतडीमा प्रहरी कार्यालय बाहिर नाराबाजी गरिएको छ । राती १२ बजेतिरको समयमा प्रहरी कार्यालय बाहिर नाराबाजी गरिएको र पछि उनीहरु भागेको प्रहरी नायब उपरीक्षक अधिकारीले जानकारी दिए । उनले भने ,हामीले अहिले भन्सार छलेर ल्याएको सामग्रीमा कडा निगरानी गरिरहेका छौं । तस्करको समूहले नाराबाजी गरेको हुन सक्छ । हामीले एक्सन लिने तयारी गर्दैगर्दा उनीहरु भागे ।
नाराबाजी गर्नेहरुको खोजी भइरहेको पनि प्रहरीले जनाएको छ। तस्करी गरेर भारतबाट अवैधरुपमा सामग्री भित्र्याउनेको समूहलाई निस्क्रिय पार्न प्रहरी लागिपरेको प्रहरी नायव उपरीक्षक अधिकारीले जानकारी दिए । उनले भने, भन्सार छलेर सामग्री ल्याउनेलाई उन्मुक्ति दिन मिल्दैन।
FACEBOOK COMMENTS