काठमाण्डौँ — दुईवटा वाइडबडी विमान खरिद प्रक्रियाबारे अध्ययन गर्न संघीय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले प्रस्ताव गरेको उपसमितिको संयोजकमा कांग्रेस सांसद प्रकाशमान सिंह नरहने भएका छन् ।
सांसद सिंहले पार्टीको जिम्मेवारीका कारण संसदीय समितिले प्रस्ताव गरेको उक्त अध्ययन उपसमितिको नेतृत्वमा बस्न नसक्ने बताए।
मंसिर ७ गते संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले वाइडबडी खरिदलगायतका विषयमा छलफल गर्न बैठक गरेको थियो।
बैठकले वाइडबडी विमानलगायतका विषयमा विस्तृत अध्ययन गर्न उपसमिति बनाउनुपर्ने निर्णय गर्दै सांसद सिंहको संयोजकत्वमा तीन सदस्यीय उपसमिति गठन गर्ने प्रस्ताव गरेको थियो।
यसैबीच समितिकी सभापति पवित्रा निरौलाले उपसमितिको नेतृत्व पुनर्गठन गर्न अर्को बैठक आयोजना गर्न लागेको बताइन्।
यो उपसमितिले निगमले वाइडबडी कसरी खरिद गर्यो, कताबाट प्रक्रिया थाल्यो, त्यसबेला सरकारले के निर्णय गरेको थियो लगायतका विषय अध्ययन गर्नेछ ।
— कान्तिपुर
FACEBOOK COMMENTS