काठमाडौं, भदौ १२ । राष्ट्रिय वाणिज्य बैंकले एकैसाथ १४ वटा नयाँ शाखा विस्तार गरेको छ ।
बैंकले बुधबार एक कार्यक्रमको आयोजना गरी माननीय अर्थमन्त्री डा.युबराज खतिवडाले राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ५ प्रदेशका १२ जिल्लामा रहेका १४ वटा नयां शाखा कार्यालयहरुको संयुक्त डिजिटल प्रविधिबाट उद्घाटन गरेका छन् । यस पछी बैंकको शाखा कार्यालयको संख्या २३६ पुगेको छ ।
उद्घाटन भएका नयां शाखाहरुमा झापाको चकचकी, मोरङ्गको कर्सिया, काठमाडौं कोटेश्वर, टोखा, तनहुँको खैरेनीटार, गुल्मीको पूर्तिघाट, नवलपुरको टांगीकोट, कपिलबस्तुको चन्द्रौटा, दाङ्गको घोराही, पर्साको पोखरीयाबजार, मकवानपुरको भिमफेदी, महोत्तरीको बलवाबजार, रौतहटको चन्द्रपुर, महोत्तरीको पिपरा शाखा रहेका छन् ।
अर्थमन्त्री खतिवडाले पहिलाको तुलनामा राष्ट्रिय वाणिज्य बैंकले प्रगति गरेकोे चर्चा गर्दै थप उत्पादकत्व बृद्धि हुने गरी कार्य गर्नुपर्ने बताए । उनले सामाजिक बैंकिङ सहितको मुनाफा सरकारले बैंकबाट चाहेको बताए । उनले बैंकले प्राथमिकता क्षेत्र तोकेर लगानी गर्नुपर्ने, वित्तीय पहूचको लागि वित्तीय साक्षरता अभियानलाई अगाडि बताउनुपर्ने बताए ।
नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले सरकारी नीति कार्यक्रमलाई सफल बनाउन रा.वा.बैंक खरो रुपमा उत्रेको बताए । राष्ट्रिय वाणिज्य बैंक संचालक समितिका अध्यक्ष महेन्द्रमान गुरुङ्गले समिति स्रोत साधनको अभावमा पनि रा.वा.बै.कले उत्कृष्ठ सेवा सहित सवोत्कृष्ठ मुनाफा गरेको बताए ।
बैंकले गत आ.व. २०७५÷०७६ मा ५ अर्ब ३२ करोड रुपैंया खुद मुनाफा गरेको छ । यस अवधिमा बैंकको निक्षेप १ खर्ब ९० अर्ब रुपैंया, कर्जा १ खर्ब ४४ अर्ब रुपैंया र बेस रेट ५।५० प्रतिशत रहेको छ ।
बैंकको हाल सातै प्रदेस, ७७ जिल्लामा २३६ वटा शाखा कार्यालय, १७८ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ रहेको छ । बैंकले बैंकिङ क्षेत्रको विस्तार, वित्तीय पहुंचको लागि वित्तीय साक्षरता, बैंकलाई प्रतिस्पर्धी बनाएर युवाहरु लक्षित बैंकिङ्ग कारोबार संचालन, प्राथमिकता क्षेत्र तथा विपन्न वर्गमा कर्जा प्रवाह गर्दै नेपाल सरकारको नीति तथा कार्यक्रमलाई सघाउ गुग्ने गरी बैंकिङ सेवाहरु प्रवाह गरिरहेको छ ।
FACEBOOK COMMENTS