काठमाडौं, मंसिर १२ – नेपाल रेडक्रस सोसाइटी रोल्पाले युएनएफपिएसँगको सहकार्यमा अतिविपन्न ३० किशोरीलाई छात्रवृत्ति स्वरुप आर्थिक सहयोग हस्तान्तरण गरेको छ । शुक्रबार जिल्ला सदरमुकाम लिबाङमा आयोजित कार्यक्रममा ती किशोरीहरुलाई छात्रवृत्ति प्रदान गरिएको हो ।
लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानका अवसरमा प्रतिव्यक्ति १० हजारका दरले तीनलाख रकम छात्रवृत्तिमा वितरण गरिएको रेडक्रसले जनाएको छ ।
रेडक्रसको कार्यक्षेत्र रहेको रोल्पा नगरपालिका, परिवर्तन गाउँपालिका, सुनिलस्मृति गाउँपालिका र रुन्टीगढी गाउँपालिकाका ३० अतिविपन्न किशोरीहरुलाई छात्रवृत्ति वितरण गरिएको रेडक्रस रोल्पाका सभापति डी.बी. घर्तीमगरले बताए ।
अभिभावकविहीन तथा विभिन्न हिंसामा परेका किशोरीहरुलाई छात्रवृत्ति प्रदान गरिएको उनले जानकारी दिए । छात्रवृत्तिबाट अध्ययनका साथै हिंसापीडित किशोरीहरुको आर्थिक आधार निर्माणका लागि सहयोग पुग्ने उनको भनाइ छ ।
छात्रवृत्ति रकमलाई सदुपयोग गरेर आफ्नो भविष्य निर्माणमा खर्चिन रोल्पा नगरपालिकाका उपप्रमुख मनकुमारी घर्तीले सुझाव दिइन् ।
FACEBOOK COMMENTS