काठमाडौँ — लगानी बोर्डले ५ जलविद्युत् आयोजनासहित विभिन्न परियोजनाका लागि पौने दुई खर्ब रुपैयाँको वैदेशिक लगानी स्वीकृत गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको बोर्ड बैठकले १ खर्ब ८५ अर्ब ४३ करोड बराबरको लगानी स्वीकृत गरेको हो । बोर्ड बैठकले ५ वटा जलविद्युत् आयोजना र २ वटा सिमेन्ट उद्योगका लागि यो लगानी स्वीकृत गरेको हो ।
बैठकले ३ सय २७ मेगावाटको माथिल्लो मस्र्याङ्दी जलविद्युत् आयोजनाका लागि ७८ अर्ब ६५ करोड, ५७ मेगावाटको म्याग्दीखोला आयोजनाका लागि १० अर्ब ३१ करोड, ९७ मेगावाटको इसुवाखोला आयोजनाका लागि १३ अर्ब ५७ करोड र १ सय ६४ मेगावाटको कालीगण्डकी गर्ज जलविद्युत् आयोजनाका लागि २८ अर्ब ६ करोड बराबरको लगानी स्वीकृत गरेको लगानी बोर्डले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । बोर्ड बैठकले बाँके र कपिलवस्तुमा सञ्चालन हुने २० मेगावाटको स्टोरेजसहित १ सय २५ मेगावाटको सौर्य ऊर्जा परियोजनाको सर्वेक्षण अनुमतिपत्र प्रदान गर्ने निर्णय पनि गरेको छ । साथै छुट्टाछुट्टै निर्माण हुने दुवै परियोजनाका लागि सिंगापुरको राइजन इनर्जीसहितको जेभी पीटीई लिमिटेडलाई सर्वेक्षण अनुमतिपत्र जारी गरेको हो ।
दाङ सिमेन्ट इन्डस्ट्रिजका लागि ३२ अर्ब ५० करोड र सम्राट सिमेन्ट इन्डस्ट्रिजका लागि १५ अर्ब ५ करोड लगानी पनि स्वीकृत गरिएको छ । बैठकले कोभिड–१९ का कारण सिर्जित परिस्थितिका कारण नेपाल–चीन मैत्री औद्योगिक पार्क दमक, मुक्तिनाथ केबलकार, मल्टीमोडल लजिस्टिक पार्क र प्राइभेट फ्रेट टर्मिनल एन्ड बल्क ह्यान्डलिङ फेसिलिटी परियोजनाको विस्तृत अध्ययन प्रतिवेदन पेस गर्ने समयावधि थप गर्ने निर्णय गरेको विज्ञप्तिमा जनाइएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकमा ऊर्जामन्त्री वर्षमान पुन, अर्थमन्त्री युवराज खतिवडा, उद्योग वाणिज्यमन्त्री लेखराज भट्ट, वनमन्त्री शक्तिबहादुर बस्नेतसहितको उपस्थिति थियो ।
FACEBOOK COMMENTS