काठमाडौँ, मंसिर ३ – नेपालको सहरी विकास र वित्तीय क्षेत्रको सुदृढीकरणका लागि विश्व बैंक र सरकारबीच ४२ अर्ब रुपैयाँ बराबरको आर्थिक सम्झौतामा हस्ताक्षर भएको छ ।
नेपालको ‘सहरी विकास र पूर्वाधार आयोजना’ र ‘आर्थिक वृद्धिका लागि वित्त’ विकास नीति सहायता सम्बन्धी दुईवटा सम्झौतामा विश्व बैंक र अर्थमन्त्रालयबीच बुधबार सम्झौता भएको हो ।
सम्झौता पत्रमा नेपाल सरकारकोतर्फबाट अर्थ सचिव शिशिरकुमार ढुंगाना र माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसले हस्ताक्षर गरेका हुन् । उक्त सहायता अन्तर्गत करिब १८ अर्ब रुपैयाँ (१ सय ५० मिलियन अमेरिकी डलर) बराबरको रकम विभिन्न ३३ वटा नगरपालिकाहरुको सहरी विकास र पूर्वाधार आयोजनामा खर्च हुनेछ ।
सो रकम पूर्वी तराई क्षेत्रमा प्रदेश एक र दुईका र पश्चिमी क्षेत्रमा गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका नगरपालिकाहरुमा खर्च गरिने अर्थमन्त्रालयका सचिव शिशिर ढुंगानाले बताए ।
FACEBOOK COMMENTS