काठमाडौं, पुस १ – अमेरिकी म्यागेजिन ‘फोर्ब्स’ ले सन् २०२० मा विश्वभरका ‘टप १०’ महंगा अभिनेताको सूची सार्वजनिक गरेको छ। नेटफ्लिक्स र अन्य अनलाइन स्ट्रिमबाट पाएको रकमको आधारमा तयार पारिएको सूचीमा हलिउडदेखि बलिउडसम्मका अभिनेताहरुको नाम समावेश छ।
‘फोर्ब्स’ का अनुसार सूचीको पहिलो स्थानमा हलिउड अभिनेता ड्वेन जोनसन छन्। अक्षय कुमार बलिउडबाट सूचीमा पर्न सफल एक्ला कलाकार हुन्। उनले विल स्मिथ र ज्याकी चेनजस्ता चर्चित कलाकारलाई समेत उछिनेका छन्।
१. ड्वेन जोनसन
‘द रक’ नामले चर्चित रहेका हलिउड अभिनेता ड्वेन जोनसन यस वर्षको सार्वधिक कमाइ गर्ने अभिनेता हुन्। उनको कमाइ करिब आठ करोड सात लाख अमेरिकी डलरभन्दा बढी छ।
हालै उनले नेटफ्लिक्समा आउन लागेको फिल्म ‘रेड नोटिस’ का लागि दुई करोड तीन लाख अमेरिकी डलरभन्दा बढी शुल्क लिएका छन्। अभिनेता ड्वेन रिटाइर्ड पहलवान समेत हुन् र उनको आफ्नै व्यवसाय पनि छ। अघिल्लो वर्षको सार्वधिक कमाइ हुने अभिनेताको सूचीमा पनि उनी नै पहिलो स्थानमा थिए। उनको कमाइ आउँदो सुपरहिरो फिल्ममा हुन सक्ने डेब्यूसँगै बढ्दै जाने बताइएको छ।
२. रायन रेनोल्ड्स
चर्चित हलिउड अभिनेता तथा कमेडियन रायन रेनोल्ड्स यस वर्षको दोस्रो सार्वधिक कमाइ गर्ने अभिनेता हुन्। ‘फोर्ब्स’ का अनुसार उनको कमाइ सात करोड एक लाख अमेरिकी डलरभन्दा धेरै छ।
हालै नेटफ्लिक्सको नयाँ फिल्म ‘सिक्स अन्डरग्राउन्ड’ र ‘रेड नोटिस’ मा काम गरेवापत उनले दुई करोड अमेरिकी डलर शुल्क लिएका थिए।
डेडपुल, सेफ हाउस, द हिटम्यान्स बडिगार्ड रायन रेनोल्ड्सका चर्चित फिल्म मध्ये पर्छन्।
३. मार्क वालबर्ग
पाँच करोड आठ लाख अमेरिकी डलरभन्दा बढी कमाइ भएको अमेरिकी अभिनेता मार्क वालबग यस वर्षको तेस्रो सार्वधिक कमाइ गर्ने अभिनेता हुन्।
मार्कले अभिनय गरेको चर्चित फिल्मका सूचीमा द डिपार्टेड, टेड, द फाइटर लगायत फिल्म छन्।
उनले हालै निर्माण गरेको नेटफ्लिक्स फिल्म ‘म्याक मिलियन’ र ‘वाल स्ट्रिट’ बाट पनि लाखौँ कमाएका थिए।
४. बेन अफलेक
अमेरिकी अभिनेता तथा फिल्म निर्देशक बेन अफलेकको कमाइ पाँच करोड पाँच लाख अमेरिकी डलर छ। उनले चर्चित सुपरहिरो फिल्म ‘ब्याटम्यान भर्सेस सुपरम्यान’ मा अभिनय गरेका छन्। उनले हालसम्म दुइ एकेडेमी अवार्ड र तीन गोल्डेन ग्लोब अवार्ड जितेका छन्।
५. भिन डिजल
चर्चित अमेरिकी फिल्म ‘फास्ट एण्ड फ्युरिअस’ का अभिनेता भिन डिजल यस वर्षको सार्वधिक कमाइ गर्ने अभिनेताको सूचीमा पाँचौ स्थानमा परेका छन्।
उनको कमाइ पाँच करोड चार लाख अमेरिकी डलर छ। उनी अहिलेसम्मकै महंगा अभिनेताका रुपमा चिनिने गर्छन्।
६. अक्षय कुमार
चर्चित बलिउड अभिनेता अक्षय कुमार यस वर्षको सार्वधिक कमाइ हुने अभिनेताको सूचीमा पर्न सफल भएका छन्। अघिल्लो वर्ष पनि उनी यस सूचीमा परेका थिए।
उनको कमाइ चार करोड आठ लाख अमेरिकी डलरभन्दा बढी रहेको छ। हाल उनी अमेजन प्राइम सिरिज ‘द इन्ड’ मा काम गरिरहेका छन्।
७. लिन–मानुएल मिरान्डा
अमेरिकी अभिनेता तथा गायक लिन–मानुएल मिरान्डा सार्वधिक कमाइ गर्ने अभिनेताको सूचीमध्ये सातौं स्थानमा छन्।
उनको कमाइ चार करोड पाँच लाख अमेरिकी डलर भन्दा बढी छ। उनी चर्चित म्यूजिकल ‘हमिल्टन’ का गायक पनि हुन्।
८. विल स्मिथ
चर्चित अमेरिकी अभिनेता तथा र्यापर विल स्मिथको कमाइ चार करोड चार लाख अमेरिकी डलरभन्दा बढी छ। योसँगै उनी महंगा अभिनेताको सूचीमा आठौं स्थानमा परेका छन्। सन् २००७ मा विल स्मिथले हलिउडका शक्तिशाली अभिनेताको उपाधि पनि पाएका थिए।
उनी पाँच गोल्डेन ग्लोबअवार्ड र दुई एकेडेमी अवार्डका लागि मनोनित भइसकेका छन्। उनले हालसम्म चार ओटा ग्रामी अवार्ड जितिसकेका छन्।
९. एडम स्यान्डलर
अमेरिकी अभिनेता तथा कमेडियन एडम स्यान्डलरको कमाइ चार करोड एक लाख अमेरिकी डलर छ। सन् २०१४ मा उनले नेटफ्लिक्सका चार फिल्ममा अभिनय गरेवापत २५ करोड अमेरिकी डलर लिएका थिए।
१०. ज्याकी चान
विश्वकै चलचित्र क्षेत्रमा ‘लेजेन्ड’ मानिने हङकङका अभिनेता ज्याकी चान फोर्ब्सको सर्वाधिक महंगा अभिनेताको सूचीमा दसौं स्थानमा परेका छन्।
थुप्रै हिट फिल्ममा काम गरिसकेका ज्याकी चानको कमाइ चार करोड अमेरिकी डलर छ। फिल्म क्षेत्रमा ठूलो योगदान पुर्याएका यी अभिनेताले कयौं पुरस्कार जितिसकेका छन्।
गत वर्ष मात्रै उनले पाँच वटा फिल्ममा अभिनय गरेका थिए।
FACEBOOK COMMENTS