काठमाडौं, कात्तिक १६ – कोरोना भाइरसको कारण विश्वभर ज्यान गुमाउनेको संख्या १२ लाख नाघेको छ । ४ सय ६६ जनाको ज्यान गएसँगै विश्वभर ज्यान गुमाउनेको संख्या १२ लाख नाघेको वल्ड्रोमिटरले जनाएको छ । ४ करोड ६३ लाखमा कोरोना पुष्टि भएकोमा १२ लाख १ सय ९३ जनाको ज्यान गएको हो । ३ करोड ३४ लाख भने निको भएका छन् ।
अहिले १ करोड १६ लाख ९० हजार सक्रिय सङ्क्रमित रहेकामा एक प्रतिशत अर्थात ८४ हजारको अवस्था जटिल रहेको र बाँकी १ करोड १६ लाखको अवस्था सामान्य रहेको वल्ड्रोमिटरले जनाएको छ । अहिलेसम्म सबैभन्दा धेरै अमेरिकामा ९४ लाख २ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि हुँदा ६० लाख ६२ हजार निको भएका छन् ।
२ लाख ३६ हजारको भने ज्यान गएको छ । यस्तै भारतमा ८१ लाख ८२ हजारमा कोरोना पुष्टि हुँदा ७४ लाख ८९ हजार निको भएका छन् । १ लाख २२ हजारको भने ज्यान गएको छ । ५५ लाख ३५ हजारमा सङ्क्रमण पुष्टि भएको ब्राजिलमा ४९ लाख ७२ हजार निको भएका छन् । १ लाख ५९ हजारको ज्यान गएको छ ।
रुस, फ्रान्स, स्पेन, अर्जेन्टिना, कोलम्बिया र बेलायतमा सङ्क्रमितको संख्या १० लाख नाघिसकेको छ । सङ्क्रमितसँगै ज्यान गुमाउनेको संख्या बढ्दै गएपछि यूरोपका विभिन्न देशले दोस्रो चरणको लकडाउन घोषणा गरेका छन् ।
FACEBOOK COMMENTS