काठमाडौं, बैशाख ०३ – वीरगन्जमा शुक्रबार साँझ थप ५७ जना कोरोनाका संक्रमित थपिएका छन् ।
वीरगन्ज स्थित नारायणी अस्पतालको प्रयोगशालामा शुक्रबार साँझ ९४ जनाको पीसीआर परिक्षण गर्दा आधा भन्दा बढि अर्थात ५७ जनामा संक्रमण पुष्टि भएको अस्पतालका कोभिड कोर्डिनेटर डाक्टर सरोज रोशन दासले जानकारी दिए ।
शुक्रबार साँझ थपिएका ५७ जना संक्रमितमध्ये पर्सा जिल्लाको मात्रै ५० जना छन् । पर्साको ५० जनामध्ये पनि वीरगन्ज महानगरपालिकाका मात्रै ४७ जना हुन् ।
पर्साकै छिपहरमाइ गाउँपालिका, सखुवा प्रसौनी गाउँपालिका र बहुदरमाइ नगरपालिकाका १/१ जनामा पनि संक्रमण भेटिएको डाक्टर दासले जानकारी दिए ।
शुक्रबार साँझको परीक्षणमा बाराका ४ जना र रौतहटका ३ जनामा पनि संक्रमण भेटिएको उनले बताए । यसअघि बिहीबार बेलुकी पनि वीरगन्जकै नारायणी अस्पतालमा ७८ जनाको परीक्षण गर्दा ती मध्ये ३८ जनामा संक्रमण पुष्टि भएको थियो ।
बिहीबार बेलुकी संक्रमण पुष्टि भएका ७८ जनामध्ये पर्साको वीरगन्ज महानगरपालिकाका मात्रै ३१ जना थिए । वीरगन्जमा पछिल्लो एक हप्तामा (चैत २७ देखि वैशाख ३ सम्म) मात्रै २ सय ६ जना नयाँ संक्रमित थपिएका हुन्।
वीरगन्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा चैत २७ देखि बैशाख ३ गते सम्म ४ सय ४२ जनाको परीक्षण गर्दा २ सय ६ जनामा संक्रमण भेटिएको हो ।
परिक्षण गरिएकामध्ये आधामा संक्रमण भेटिनुले वीरगन्जमा कोरोना संक्रमणले भयावह रुप लिन थालिसकेको नारायणी अस्पतालका डाक्टर उदय नारायण सिंहले बताए ।
कोरोना संक्रमणका कारण पछिल्लो एक हप्तामा पर्सा र बाराका ४ जनाले ज्यान पनि गुमाइसकेका छन् । स्वास्थ्य मन्त्रालयले पनि बिहीबार मात्रै पर्सा, बारा सहितका १४ जनालाइ संक्रमणको अति प्रभावित जिल्ला घोषणा गरिसकेको छ ।
FACEBOOK COMMENTS