काठमाडौं, पुस १८ – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिखका वडा अध्यक्ष दिनेशकुमार तिलिजाको निधन भएको छ। प्यारालाइसीस (पक्षघात) रोगबाट थलिएका तिलिजाको शुक्रबार साँझ करिब ६५ वर्षको उमेरमा पोखरामा निधन भएको कार्यवाहक वडा अध्यक्ष राजेश तिलिजा पुनले बताए।
पोखरा महानगरपालिका–११ फुलबारीस्थित निवासमा तिलिजाको निधन भएको हो। उनको शनिबार पोखरामै अन्त्येष्टि गरिने भएको छ। गत साउनमा एक्कासी बिरामी भएपछि उहाँलाई हेलिकप्टरबाट पोखरा लगिएको थियो।
तिलिजाले पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचार गराउदै आएका थिए। उनको शरिरको देब्रे भाग चल्न छाडेको थियो। तिलिजाका श्रीमति, दुई छोरी र दुई छोरा छन्।
उनी वि.स. २०७४ मा भएको स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसबाट उमेद्वार बनेर निर्वाचित भएका थिए। किन्दु आधारभूत विद्यालयको पुर्व प्रअसमेत रहेका तिलिजाले शिख माविमा समेत अध्यापन गराएका थिए।
वडा अध्यक्ष तिलिजाको निधनप्रति गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले दुख व्यक्त गरेका छन्।
