काठमाडौं, पुस ११ – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसद् विघटनविरुद्ध यही पुस १३ गते देशका १ सय ६५ वटै निर्वाचन क्षेत्रमा प्रदर्शन गर्ने भएको छ।
पार्टी सभापति शेरबहादुर देउवाले संसद् विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध देशभर प्रदर्शन गर्ने बताएका हुन्। सरकारको असंवैधानिक कदमविरुद्ध पुस १३ को प्रदर्शनमा सहभागी हुन पनि देउवाले आग्रह गरेका छन् ।
देउवाले विघटनकै दिन पार्टीका वर्तमान र पूर्व पदाधिकारीहरूको बैठकमा संसद् विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गरिसकेको पनि बताएका छन्।
‘संविधानमा भएको व्यवस्था प्रतिकुल, जनभावना विपरीतको कार्यविरुद्ध नेपाली कांग्रेस सम्पूर्ण रुपमा एकमतमा उभिएको छ’, उनले भनेका छन्, ‘जारी केन्द्रीय कार्यसमितिको बैठकमा म आफैंले १३ गते प्रदर्शन गर्ने प्रस्ताव गरेर, केन्द्रीय कार्यसमितिको निर्णयपछि अहिले हाम्रो सम्पूर्ण ध्यान प्रदर्शनमा केन्द्रित छ।’
उनले पार्टीका सदस्य, कार्यकर्ता र शुभचिन्तकहरुलाई विरोध प्रदर्शनमा सहभागी भएर सरकारको असंवैधानिक र अलोकतान्त्रिक कदमविरुद्ध ऐक्यबद्धता जनाउन अपील गरेका छन्।
FACEBOOK COMMENTS