काठमाडौं, चैत २ –कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री दल रावलले आफ्नै मन्त्रालयमा कार्यरत सचिवलाई कारबाही गर्न माग गर्दै मुख्यमन्त्रीलाई पत्र लेखेका छन् । मन्त्री रावलले आफनै मन्त्रालयका सचिव लोकनाथ पौड्याललाई कारबाही गरिदिन माग गर्दै फागुन २३ गते मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई पत्र लेखेका हुन् ।सचिव पौड्यालले पदबहाली गरेको समयदेखिनै मन्त्रालयको कामकाज भन्दा व्यक्तिगत कामलाई मात्र महत्व दिएको, पदको जिम्मेवारी, दायित्व र कर्तव्यलाई सिरानीमा हालेरको मन्त्रीले लेखेको पत्रमा उल्लेख गरिएको छ ।
चालू आर्थिक वर्षको दोस्रो चौमासिक सकिन लाग्दा पनि मन्त्रालयका कुनै कामहरु अघि नबढेपछि पत्र लेख्न बाध्य भएको मन्त्री रावलले बताएका छन् ।‘चालू आर्थिक वर्ष २०७७/०७८ को अन्तिमतिर आउँदासम्म पनि मन्त्रालयको काममा सिन्को भाँच्नेसम्मको कार्य गरेनन् । सचिवलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा फिर्ता पठाउनका लागि आवश्यक कदमका साथ कारबाही प्रक्रिया अघि बढाउन अनुरोध गर्दछु,’ पत्रमा लेखिएको छ ।
चालू आर्थिक वर्षको दोस्रो चौमासिकसम्म सामाजिक विकास मन्त्रालयको पुँजीगत खर्च ३.२३ प्रतिशत मात्रै छ । मन्त्रालयसँग रहेको पुँजीगत तर्फको एक खर्ब ४२ करोड २० लाख १४ हजार मध्ये चार करोड ५९ लाख ३० हजार १५१ रुपैयाँ मात्रै खर्च भएको छ ।कर्णाली राजमार्गको दैलेखमा पर्ने आठबीस नगरपालिकामा ट्रमा सेन्टर, ७८ वटै पालिकामा खेल मैदान, पाँच जिल्लाका पाँच अस्पताल भवन निर्माणलगायतका कामहरु सचिवकै कारण सुरु हुँन नसकेको मन्त्रालयका एक कर्मचारीले बताए ।
सचिवकै कारण कर्णाली प्रदेश अस्पतालहरुमा कार्यरत विशेषज्ञ सेवा अन्तर्गतका कर्मचारीहरुले तलब पाएका छैनन् । अघिल्लो साता करारमा काम गर्दै आएका अस्पताल कर्मचारीहरुले सचिवको कार्यकक्षमा समेत तालाबन्दी गरेका थिए ।मन्त्री रावलको पत्रका आधारमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आवश्यक कारबाही र सरुवाका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग समन्वय गेपछि सचिव पौड्याललाई लुम्बिनी प्रदेश प्रमुखको कार्यालयमा काजमा सरुवा गरेको छ ।
FACEBOOK COMMENTS