काठमाण्डौ, पुस १४ – सन् २०२० मा विश्वभर कुल ५० पत्रकार तथा सञ्चारकर्मीहरुको हत्या भएको एक प्रतिवेदनले देखाएको छ । हत्याका अधिकांश घटना द्वन्द्वग्रस्त मुलुकहरुमा भएको सो प्रतिवेदनमा उल्लेख गरिएको छ ।
रिपोटर्स विथाउट बोडर्सले मङ्गलबार वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै यसरी मारिनेमा अपराध, भ्रष्टाचार, वातावरणलगायत विषयमा खोजमूलक समाचार लेख्ने पत्रकार बढी प्रभावित भएको उल्लेख छ । अधिकांश हत्याका घटना मेक्सिको, अफगानिस्तान, भारत र पाकिस्तानलगायत देशमा भएका छन् ।
यसमा पहिलो नम्बरमा मेक्सिको छ । मेक्सिकोमा आठ पत्रकारको हत्या भएको प्रतिवेदनमा उल्लेख छ । अझ अनौठो त यो छ कि यी हत्यामा संलग्नमध्ये कसैलाई पनि कारबाही भएको छैन ।
लामो समयदेखिको द्वन्द्व अझै कायमै रहेको अफगानिस्तानमा यो वर्ष द्वन्द्वका क्रममा पाँच पत्रकारको हत्या भएको छ । शान्ति वार्ताको प्रयास भइरहे पनि यसले मूर्त रुप पाउन सकेको छैन ।
सन् २०१९ मा विश्वभर ५३ पत्रकारको हत्या भएको थियो । तुलनात्मक रुपमा यो वर्ष कम हत्या भएको छ । कोरोना महामारीका कारण पत्रकार कार्यक्षेत्रमा कम गएकाले हिंसात्मक घटना कम भएको अनुमान बोडर्सले गरेको छ ।
FACEBOOK COMMENTS